१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


उपचार सेवा नरोक्न पाटन अस्पताललाई प्रहरीको अपिल


1.274k
Shares

काठमाडौं । स्वास्थ्य उपचारको सेवा नरोक्न पाटन अस्पताललाई प्रहरीले अपिल गरेको छ ।

जिल्ला प्रहरी परिसर ललितपुरले पाटन अस्पताल प्रशासन, चिकित्सक र सरोकारवालालाई अत्यावश्यक स्वास्थ्य उपचारको सेवा सञ्चालन गर्न अपिल गरेको हो ।

परिसरका प्रवक्ता एसपी नवराज कार्कीले एक विज्ञप्ति जारी यस्तो अपिल गर्नुभएको हो । शनिबार पाटन अस्पतालमा जेष्ठ नागरिक वार्डमा रहेका कृष्णबहादुर नगरकोटी र जनमाया राईको मृत्यु भएको थियो ।

निमोनियाका बिरामी उनीहरूलाई एन्टिबायोटिक औषधि सुईमार्फत् दिएको पाँच मिनेटभित्रै दुवै जनाको मृत्यु भएको आफन्तले आरोप लगाएका छन् ।

चिकित्कसकको लापरबाहीले उनीहरूको मृत्यु भएको भन्दै बिरामीका आफन्तले अस्पतालका चिकित्सकहरुमाथि हातपात गरेका थिए ।

चिकित्सकमाथि कुटपिट गरेको विरोधमा चिकित्सकसहितका स्वास्थ्यकर्मीहरुले आकस्मिक बाहेकका सबै सेवा ठप्प पारेका छन् । चिकित्सकमाथि कुटपिट गर्नेमाथि कारबाही गर्न माग गर्दै आवासीय चिकित्सकहरुनै विरोध प्रदर्शनमा उत्रिएपछि अस्पतालको आकस्मिक बाहेकका सबै सेवा ठप्प भएको हो ।

प्रचलित कानून बमोजिम चिकित्सकमाथि आक्रमण गर्नेहरुलाई कारबाही नगरेसम्म आफूहरुको आन्दोलन जारी रहने चिकित्सक अडान राखेका छन् ।

घटनाबारे अनुसन्धान अघि बढाएको र परिसरबाट कानुनबमोजिम अनुसन्धान भइरहेकाले यसमा सहयोग गर्दै अत्यावश्यक सेवा सुचालु गर्न परिसरले आग्रह गरेको छ ।