
काठमाडौं । चिनी मिल खुल्ने भएपछि बर्दियाको राजापुरका किसान उखुखेतीतर्फ आकर्षित भएका छन् ।
राजापुर सुगर एण्ड केमिकल्स इन्डस्ट्रिज प्रालिले राजापुर नगरपालिका– ५ बदालपुरमा आगामी वर्षदेखि मिल सञ्चालनमा ल्याउने तयारी गरेपछि त्यहाँका किसान उखुखेतीतर्फ आकर्षित भएका हुन् ।
२०८१ सालमा चिनी मिल सञ्चालनमा ल्याउने गरी काम सुरु गरिएको इन्डस्ट्रिजले जनाएको छ । २० बिघा जग्गा खरिद गरेर काम शुरु गरेको जनाइएको छ ।
मिल सञ्चालन गर्न दुई अर्बदेखि अढाई अर्ब रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ । मिल पूर्णरूपमा सञ्चालन गर्नका लागि पाँचदेखि छ हजार बिघा क्षेत्रफलमा उखुखेती आवश्यक पर्ने बताइएको छ ।
मिल सञ्चालन भएपछि पाँच सय जनाभन्दा बढीले प्रत्यक्ष रोजगारी पाउनेछन् भने हजारौं अप्रत्यक्ष रोजगारीमा जोडिने अपेक्षा गरिएको छ । प्राविधिक बाहिरबाट ल्याए पनि अन्य कर्मचारी राख्दा स्थानीयलाई प्राथमिकतामा राख्ने कम्पनीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्