
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले मध्यपहाडी पुष्पलाल लोकमार्ग केन्द्रित विशेष अभियान सञ्चालन गर्ने भएको छ ।
बुधबार केन्द्रिय कार्यालय च्यासलमा बसेको पार्टी सचिवालय बैठकले मंसिर १४ गतेदेखि यो विशेष अभियान सञ्चालन गर्ने निर्णय गरेको हो ।
विकास, निर्माण र सामाजिक सद्भावसहितको राष्ट्रिय एकताको सन्देश दिने गरी सो अभियान सञ्चालन गर्ने निर्णय लिइएको पार्टीका उपमहासचिव प्रदीप ज्ञवाली बताउनुभयो । झुलाघाट–चिवाभञ्ज्याङः समृद्धिका लागि संकल्प यात्रा नाम दिइएको सो अभियानका सुभारम्भ अध्यक्ष केपी शर्मा ओलीले बैतडीको झुलाघाटबाट सुभारम्भ गर्नुहुने छ ।
अभियानको क्रममा सो राजमार्ग केन्द्रित मुख्यमुख्य सहर र जिल्लाहरुमा भेलाहरु गर्दै, अन्तरक्रियाहरु गर्दै, त्यहाँका उद्यमी, व्यवसायीहरुसँग भेट गर्दै, त्यहाँ राम्रा काम गर्नेहरुलाई प्रोत्साहन गर्दै, चुनौतिहरुलाई सुन्दै त्यहाँका ऐतिहासिक स्थलहरुको अवलोकन गर्दै १२/१५ वटा इभेन्टहरु ठाउँ हेरिकन गर्दै चेवा भञ्ज्याङमा पुगेर समापन गरिने पनि उपमहासचिव ज्ञवालले बताउनुभयो ।
एमालेले सो अभियानमा केन्द्रिय नेताहरुलाई परिचालन गर्ने गरी मंसिर ६ गते काठमाडौंमा केन्द्रिय कमिटी बैठक पनि बोलाएको छ । यसअघि केन्द्रिय कमिटीको बैठक धनगढीमा बोलाउन भनिएपनि सो अभियानको काममा ढिलाई हुने भएकाले केन्द्रिय कार्यालय च्यासलमै सो बैठक बस्ने निर्णय पनि गरिएको पार्टीका उपमहासचिव ज्ञवाली बताउनुभयो ।
एमालेले सो अभियानमार्फत नेपाल कम्युनिष्ट पार्टी स्थापनाको ७५ वर्षको उपलब्धिहरुको पनि सन्देश दिने र जनतामा निराशा हटाई उत्साहको वातावरण निर्माण गर्ने दाबी समेत गरेको छ ।
प्रतिक्रिया दिनुहोस्