१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


रेशम चौधरीविरुद्धको रिटको पेसी पुस १६ गते


1.105k
Shares

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीको आममाफीविरुद्धको रिटको पेसी आगामी पौष १६ गतेका लागि तोकिएको छ ।

आजका लागि तोकिएको पेसी न्यायाधीश अभावका कारण स्थगितमा परेको थियो ।

टीकापुर घटनामा सर्वोच्च अदालतले सर्वश्वसहित जन्मकैदको फैसला सुनाएका चौधरीलाई सरकारको सिफारिसमा आममाफी दिइएपछि सो घटनामा मारिएका प्रहरी निरीक्षक केशव बोहराकी पत्नी शारदा कडायतले दायर गरेको रिटमा आजदेखि अन्तिम सुनुवाइ हुने भनिएको थियो । कडायतले राष्ट्रपतिको निर्णय खारेज गरेर चौधरीलाई पूरै कैद भुक्तान गराउन माग गर्दै गत जेठ १६ गते सर्वोच्चमा रिट दिएकी थिइन् ।

मन्त्रिपरिषद्को सिफारिसमा गत जेठ १५ गते गणतन्त्र दिवसको अवसरमा चौधरीको जन्मकैदको सजाय मिनाहा गरिएको थियो । सर्वोच्चले चौधरीलाई कैलालीको टीकापुर घटनामा दोषी ठहर गर्ने तल्लो तहका अदालतको फैसला सदर गरेको थियो । तर उक्त फैसलाको पूर्णपाठ नआउँदै कैद मिनाहा गरिएको थियो ।

२०७२ साल भदौ ७ गते कैलालीको टीकापुर नगरपालिकामा थरुहट समर्थक प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा प्रहरी वरिष्ठ उपरीक्षक सेती अञ्चलका प्रमुख एसएसपी लक्ष्मण न्यौपानेसहित नेपाल प्रहरीका ५ जना तथा सशस्त्रका २ र १ बालकसहित ८ जना मारिएका थिए । आठ जनाको ज्यान जानेगरी भएको घटनाको मुख्य योजनाकार चौधरी रहेको सर्वोच्चले ठहर गरेको थियो ।