२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


उपरदाङगढीको त्यो यात्रा


2.808k
Shares

भदौको महिना थियो । न्वागी पर्व चेपाङहरूको महान् पर्व ।साइत पनि ज्योतिषलाई हेराएरै जुराए जस्तो हामी चेपाङ बस्तीतिर नै जाँदै थियौँ । चितवनमा नै धेरै समय बिताए पनि उपरदाङगढी जाने अवसर भने मिलेको थिएन ।

योजना नबनाएको त होइन तर धेरै योजनाहरू विफल भइसकेका थिए । ऐतिहासिक महत्व बोकेको गढी चितवनको पुरानो सदरमुकाम समेत रहेको कुरा त धेरै पहिले नै जानकारी थियो । त्यसैले त त्यस ठाउँमा पुग्ने तीव्र इच्छा जागेको थियो । यसपटक भने विद्यालयका प्राचार्यसहित हामी शिक्षकसाथीहरू मिलेर गएका थियौँ । मौसम निकै रमाइलो थियो । भदौको महिना भएकोले हरिया पहाडहरू भर्खरै नुहाएर बसेजस्ता निकै सुकिला देखिन्थे । माथि चढ्दै जाँदा सिमसिम पानी परिरहेको थियो । घरि कुहिरोले डाँडालाई ढपक्कै छोप्थ्यो त उत्तिखेरमा नै हटेर छर्लङ हुन्थ्यो ।

निकै मनमोहक दृश्य थियो जति हेरे पनि धीत नमर्ने । जतिबेला म सुन्दर ठाउँमा पुग्छु त्यत्तिबेला नै म मेरा विद्यार्थीलाई सम्झी हाल्छु । उनीहरूलाई पनि यो दृश्य अवलोकन गराउन पाए भन्ने कुरा मनमा उठीहाल्छ । २०८० सालको कात्तिक १८ गते यो अवसर जुट्यो । कक्षा ८, ९ र १० का विद्यार्थीलाई स्थलगत भ्रमण गराउने उद्देश्यले उपरदाङगढी लैजाने योजना तयार भयो। विद्यार्थीको साथमा हामी केही शिक्षकहरू पनि थियौँ । ओम शान्ति एकेडेमीमा शिक्षण पेसा सुरु गरेपछिको यो मेरो पहिलो भ्रमण पनि थियो । म पनि त्यत्ति नै उत्साहित थिएँ, जति विद्यार्थी थिए । हरेक बच्चाको फरक फरक स्वभाव, कोही घरबाट जाने स्वीकृति नपाएको कारण आफ्ना अभिभावकलाई सम्झाइदिन भन्दै थिए भने कोही अभिभावकले आफ्ना बच्चालाई भ्रमण जान निकै आग्रह गर्दा पनि नजाने अड्डी कस्दै थिए । त्यसकारण केही अभिभावकको आदेश नपाएर त केही स्वेच्छाले अनुपस्थित हुने जानकारी गराएका थिए ।

१८ गते बिहानै विद्यार्थीहरू निकै उत्साह र उमङ्गका साथ विद्यालयमा भेला भए । विद्यालयमा नै नास्ता गरेर हाम्रो यात्रा सुरु भएको थियो । विद्यार्थीहरू निकै रमाएका देखिन्थे । बसमा पनि निकै रमाइलो गरिरहेका थिए । हामी चढेको गाडी भरतपुरबाट कालिका नगरपालिका हुँदै अगाडि बढ्यो । शक्तिखोरबाट अलि अगाडि बढेपछि दर्बेटार भन्ने ठाउँको सिमी झरना नजिकै बस रोकियो । हाम्रो योजनाअनुसार त्यहाँबाट पैदलयात्रा गर्ने थियो । सोही अनुरुप हामीहरू सबैजना आआफ्नो झोलामा पानीको बोतल राखेर उकालो चढ्न थाल्यौँ । छिटो हिँड्ने विद्यार्थी निकै अगाडि थिए भने ढिलो हिँड्नेहरू निकै पछाडि थिए । पदयात्रा भएर होला कात्तिकको महिना भए पनि गर्मी महसुस भइरहेको थियो । माथि उपरदाङगढीमा पुग्नको लागि साघँुरो अनि अलिक ठाडो मोटरबाटो थियो । त्यो पनि ठाउँ ठाउँमा पहिरोले बिगारेको थियो । हामी यही बाटोमा हिँड्दै थियौँ । कोही भने छोटो बाटो खोज्दै पनि हिँडिरहेका थिए । बच्चाहरु आफूले लगेको खानेकुरा खाँदै बाटोमा रमाइलो गर्दै अगाडि बढिरहेका थिए । कति बच्चाहरू पहिलोपटक सिस्नो देखेको र बिझेको अनुभव पनि सुनाइरहेका थिए । त्यति धेरै पैदल यात्रा नगरेको भएर होला उनीहरूको छुट्टाछुट्टै अनुभूति सुन्दा निकै रमाइलो लागिरहेको थियो ।

यो पटक भने मलाई त्यहाँको वातावरणले भन्दा पनि विद्यार्थीका क्रियाकलापले बढी आकर्षण गरिरहेको थियो । यसरी बच्चाहरूका क्रियाकलापलाई कुनै हस्तक्षेप विना टाढैबाट नियाल्न निकै मन पर्छ । माथि होमस्टेमा पुग्दा भने छिटो र ढिलो हिँड्नेहरू एक घण्टा समयको अन्तरालमा पुगेका थियौ । हामीले त्यहाँ पुगेर खाना खायौँ । बच्चाहरू खानाभन्दा पनि आफ्नो गन्तव्यतर्फ पुग्न आतुर देखिन्थे । त्यसैले उनीहरू खानापछि चिसै हातले गढीतर्फ अफ्ना कदम चालीहाले । यहाँका होमस्टेबाट गढीमा पुग्नको लगि भने अलिकति सिँढी चढ्नुपर्ने रहेछ । उपरदाङगढी क्षेत्र प्रवेश गर्नासाथ त्यहाँ गढीको बारेमा सङ्क्षिप्त परिचय दिइएको रहेछ । यो गढी सन् १८०० मा निर्माण भएर १९६० सम्म चितवनको सदरमुकाम रहेछ र सम्पूर्ण सरकारी अड्डा र अदालतहरू यसै क्षेत्रमा रहेका रहेछन् । सम्पूर्ण सुविधासम्पन्न सदरमुकाम देखेका अहिलेका पुस्तालाई यस्तो ठाउँमा सदरमुकाम रहेको कुरा थाहा पाउँदा भने निकै अचम्म लाग्यो । ऐतिहासिक यो किल्ला चितवनको उत्तरी भागमा पर्ने साविक दाहखानी गाविस हाल इच्छाकामना गाउँपालिकामा पर्नेरहेछ । समुद्री सतहदेखि १२७५ उचाइमा पर्ने यो किल्ला तत्कालीन बाइसे चौबिसे राज्य एकिकरणका बेला अङग्रेज विरुद्धको युद्धको दौरानमा नेपाली भूमिको रक्षाको लागि सन् १८०० को सुरुतिर पृथ्वीनारायण शाहका नाति बहादुरका छोरा शत्रुभञ्जन शाहले निर्माण गरेका रहेछन् ।

चारैतिर भिरालो जमिन र बिचमा रहेको थुम्को गढीको विशेषता रहेछ । चौघेरामा रहेको ढुङले बनेको गढीको किल्लमा प्रवेश गर्ने एक मात्र ढोका रहेछ । हामीहरू यसबाट भित्र प्रवेश गर्यौ त्यहाँ कोतघर, इनार र विभिन्न देवी देवताको मन्दिरका भग्नावशेषहरू देख्यौँ । चारैतिर गहिरो नहरले घेरिएको यो किल्ला ढुङगा माटो र चुनाबाट निर्माण गरिएको रहेछ। गढीको ३ फिट चौडा र ६ फिट अग्लो पर्खालमाथि चढेर चारैतर्फ हेर्यौँ । त्यहाँबाट त चितवनका सबैजसो क्षेत्रलाई नियाल्न सकिने रहेछ । अझै बिहान, बेलुकाको समय भए त सूर्योदय र सूर्यास्तको सुन्दर दृश्यसमेत अवलोकन गर्न सकिने रहेछ । यस ऐतिहासिक स्थल गढीमा ९ वटा सेन्ट्री पोष्ट रहेछन् । पर्खालको चारैतिर तोप पड्काउने उद्देश्यले ९ वटा खुला झ्यालहरू बनाइएको रहेछ । छुट्टै पहिचान लिएर बाँचिरहेका चेपाङ समुदयको रहनसहन नियाल्ने अवसर पनि यहाँ पाइने रहेछ ।

उपरदाङगढी भरतपुरबाट एक घण्टाको गाडी यात्रापश्चात शक्तिखोरबाट ३ घण्टाको उकालो पैदलयात्रा गरी सजिलै पुग्न सकिने ठाउँ रहेछ । कुनै कुनै यात्रा छोटो समयका भए पनि हप्तौँ गरिएभन्दा उपलब्धिमूलक र अविस्मरणीय बन्न पुग्छन् तिनै यात्रामध्येको एक थियो उपरदाङगढीको यात्रा ।