२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


मन्त्रीहरुमा विधेयक पारित गर्न गाम्भिरता देखिएन : अध्यक्ष तिमिल्सिना


65
Shares

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले विधेयक पारित गर्नका लागि मन्त्रीहरुमा गम्भिरता नदेखिएको बताउनुभएको छ ।

अध्यक्ष तिमिल्सिनाले विधेयक पारित गर्नका लागि सम्बन्धित मन्त्रालयका मन्त्रिहरुले गम्भिरता नदेखाएका बताउनुभएको हो । उहाँले मन्त्रीहरुले विधेयक ल्याउनका लागि नै चासो नदेखाएका बताउनुभयो ।

त्यस्तै, संसद र समितिमा विधेयकको सम्बन्धमा छलफल भइरहँदा पनि मन्त्री अनुपस्थित हुने गरेको भन्दै उहाँले यसबाट मन्त्रीहरुमा विधेयकप्रति कुनै गम्भिरता नभएको स्पष्ट हुने बताउनुभयो । उहाँले संसदमा विधेयकको सम्बन्धमा छलफल भइरहँदा पनि मन्त्रीहरु अन्य काममा हिँड्ने गरेका बताउनुभयो । मन्त्रीहरुले आफ्नो विधेयक कहाँ पुग्यो भनेर सोधखोज समेत नगर्ने गरेको उहाँको भनाई छ ।

अध्यक्ष तिमिल्सिनाले विधेयकलाई गुणस्तरीय बनाउनका लागि विधेयकको मस्यौदा बनाउँदादेखि नै ध्यान पु¥याउनुपर्ने बताउनुभयो । उहाँले विधेयकको मस्यौदा गर्दा सम्बन्धित विषयको गाम्भिर्यता, दूरगामी प्रभाव तथा राष्ट्र र जनताको हितलाई केन्द्रबिन्दुमा राखेर गर्नुपर्ने बताउनुभयो । उहाँले आफ्नो हितलाई मात्रै केन्द्रबिन्दुमा राखेर विधेयक निर्माण गर्नु नहुने भन्दै त्यसो गरिएमा विधेयकमा गुणस्तरीयता नआउने बताउनुभयो ।

अध्यक्ष तिमिल्सिनाले विधेयक बनाउने कुरामा सांसदहरुले पनि गम्भिरतापूर्वक ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले सांसदहरुले विधेयकको गहन अध्ययन गर्नुपर्ने बताउनुभयो । त्यसैगरी राजनीतिक दलहरुले पनि आफ्ना सांसदहरुलाई विधेयकहरु निर्माण गर्ने सन्दर्भमा प्रशिक्षित गर्नु आवश्यक रहेको उहाँले बताउनुभयो । त्यस्तै, मतदाताहरुले पनि आफुले निर्वाचित गरेको सांसदलाई भुगोलमा भन्दापनि विधायन निर्माणको काममा केन्द्रित हुन दिनुपर्ने उहाँले बताउनुभयो ।

अध्यक्ष तिमिल्सिनाले विधेयक गुणस्तरीय र प्रभावकारी नआउनुमा सरकार, संसद, सांसदहरु र मतदाताहरु समेतको भुमिका भएको भन्दै सबैले आ–आफ्नो भुमिका राम्रो बनाउनुपर्नेमा जोड दिनुभयो ।