१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


प्लास्टिकका फूलमालामा प्रतिबन्ध लागेपछि फूल कृषक दंग


1.404k
Shares

कैलाली । बारीभरी सयपत्री फूल ढकमक फुलेपछि धनगढीका पुष्प व्यवसायी प्रफुल्ल देखिएका छन् ।

किसानले तिहारलाई लक्षित गरेर रोपेका विभिन्न प्रकारका सयपत्री बारीभरी ढकमक फुलेका छन् । धनगढीमा यो वर्ष दुई दर्जन बढी किसानले पुष्प खेती गरेका छन् ।

बारीभरी बिक्री गर्न तयार भएर फक्रिएका फूल ढकमक्क हुँदा कसको पो मन प्रफुल्लित नहोला र ? तिहारका लागि पुष्प व्यवसायीहरुले तयारी अवस्थामा फुल राखेका छन् ।

धनगढी उपमहानगरपालिकाले पुष्पखेतीको तालिम दिएका २६ जनामध्ये अधिकांशले फुलखेती गरिरहेका छन् । उपमहानगरले तालिमसंगै नगरभित्र प्लास्टिकका फुल र माला प्रतिबन्ध लगाएपछि स्थानीय उत्पादनले बजार पाएको छ । फुल उत्पादन अनुसार माग बढेपछि उनीहरुलाई बजारसम्म प¥याउन सहज भएको छ ।

फाट्टफुट्ट तिहारका लागि फूलको अर्डर आइरहेको भए पनि उत्पादित सबै फूल बिक्री नभएर लगानी खेर जाने हो कि भन्ने चिन्ता पनि भएको धनगढीका पुष्प व्यवसायी
बताउँछन् ।

धनगढी उपमहानगरपालिकाले यो वर्ष २६ जनालाई फूल खेती सम्बन्धी तालिम दिएको थियो । यो वर्ष पुष्पखेती सम्बन्धी तालिम लिएका सबै किसानमध्ये हरेकले कम्तिमा दुई कट्ठा र बढीमा डेढ बिघा जग्गामा पुष्पखेती गरेका छन् ।

दशैंदेखि किसानहरूले फूल बिक्री गर्न थालेका छन् । उपमहानगरले स्थानीयको व्यवसायलाई प्रवद्र्धन गर्न तालिम दिएर पुष्प खेतीलाई प्रोत्साहन गरेको हो ।

उपमहानगरले दशैँ तिहारका लागि मात्रै नभएर हरेक औपचारिक रुपमा आयोजना हुने कार्यक्रममा समेत खादालाई निस्तेज गर्दै सयपत्रीको माला प्रयोगलाई निरन्तरता दिने जनाएको छ । यसले स्थानीय उत्पादनलाई प्रोत्साहन गर्नुका साथै सफा धनगढी बनाउने अभियानले समेत सफलता पाउने अपेक्षा गरिएको धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले बताउनुभयो ।

किसानहरूलाई तिहारमा फूलको माग उच्च भएको समयमा भारतबाट थोरै सस्तोमा आउने फूलले बजार कब्जा गर्ने हो कि भन्ने चिन्ता लाग्न थालेको छ । भारतीय फूलभन्दा धनगढीमा उत्पादित फूल राम्रो र ताजा प्रयोग गर्न पाउने भएकाले स्वदेशी र स्थानीय उत्पादनलाई रोज्न उनीहरुले आग्रह गरेका छन् ।

पुष्प व्यवसायी किसानले स्थानीय सरकार र प्रशासनले प्लास्टिकको फूल र माला आयात र बिक्री वितरणमा कडाइ गरे आफूहरुले उत्पादन गरेको फूलले बजार पाउने बताएका छन् । उनीहरूले स्वदेशी उत्पादन रोजेर प्रोत्साहन गर्न सर्वसाधारणलाई आग्रह समेत गरेका छन् ।