
काठमाडौं, असार ५ । चौथो अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा नेपालमा पनि सबै जिल्लामा योग दिवस मनाइने भएको छ ।
पतञ्जलि योगपीठ नेपालले मंगलबार राजधानीमा पत्रकार सम्मेलन गरी जुन २१ अर्थात् यही असार ७ गते अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा बिहान ६ बजेदेखि ८ बजेसम्म ७७ जिल्ला सदरमुकामहरुमा सामूहिक योग गराइने जनाएको हो ।
योगपीठका ट्रष्टी शालिग्राम सिंहले सो दिन काठमाडौंको राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगन्जमा योगाभ्यास गराइने जानकारी दिए ।
सभामुख कृष्णबहादुर महरा प्रमुख अतिथि रहने सो कार्यक्रममा मन्त्रीहरु, विभिन्न दलका नेता र उच्च अधिकृतहरु सहभागी हुने जनाइएको छ ।
पत्रकार सम्मेलनमा भारतीय राजदूत मन्जिभसिंह पुरीले योगले नेपाललगायत विश्वलाई जोड्ने धारणा राखे ।
कार्यक्रमका संयोजक ज्ञानेन्द्रविक्रम महतले पूर्वीय दर्शन योगमार्फत् जीवनशैलीमा सकरात्मक परिवर्तन गर्नुपर्नेमा जोड दिए ।
सन् २०१४ मा संयुक्त राष्ट्रसंघको महासभामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको प्रस्तावमा तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाको समर्थनमा जुन २१ तारिखलाई अन्तर्राष्ट्रिय योग दिवसकारुपमा मनाउने घोषणा गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्