
काठमाडौं । सरकारले जलवायु परिवर्तन सम्बन्धी सम्मेलनलाई अवसरका रुपमा प्रयोग गर्ने बताएको छ ।
युएईको दुबईमा मंसिर १४ देखि २६ गतेसम्म हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धि (युएनएफसीसीसी)का पक्ष राष्ट्रहरुको २८ औँ सम्मेलन (कोप–२८) मा नेपालले जलवायु परिवर्तनबाट परेको प्रभावका बारेमा आफ्ना एजेण्डा गहन रुपमा प्रश्तुत गर्ने बताएको हो ।
वन तथा वातवरण मन्त्रालयका सहसचिव बुद्धि पौडेलले जलवायु परिवर्तनसम्बन्धी सम्मेलनमा जलवायु परिवर्तनका कारण परेका असर र प्रभावका बारेमा रोडम्याप बनाएर प्रस्तुत हुने बताउनुभयो । उहाँले सरकारले कुन कुन विषयलाई प्राथमिकतामा राख्ने भनेर विज्ञहरुसँग छलफल गरेको र सम्मेलनमा सबैले नेपालको तर्फबाट एउटै आवाज उठाउने बताउनुभयो । उहाँले राम्रो एजेण्डा र राम्रो टिम भए नेपालले आफूलाई परेका प्रभाव र असरको बारेमा विश्वमञ्चमा आफ्नो आवाज उठाउनसक्ने बताउनुभयो ।
सहसचिव पौडेलले औपचारिक कार्यक्रमबाहेक पनि अन्य कार्यक्रममा एक्लाएक्लै भेटवार्ता गरी जलवायु परिवर्तनका असरका बारेमा नेपालका समस्या बुलन्द गर्ने उद्देश्य राखेको बताउनुभयो । उहाँले हिमालको समस्याका बारेमा पनि जलवायु परिवर्तन सम्बन्धी सम्मेलनमा आवाज उठाउने बताउनुभयो । हिमालको विषय एक देशको विषय नभएकोले हिमाल भएका देशहरु मिलेर आवाज उठाउन सकिने बताउनुभयो ।
सहसचिव पौडेलले हिमाललाई छुट्टै एजेण्डा बनाएर जान अन्य देशहरुसँग पनि छलफल गर्नुपर्ने भएकाले अरु देशसँगको छलफल जारी रहेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्