
काठमाडौं । अधिकांश वाणिज्य बैंकहरुले मंसिर महिनाका लागि निक्षेपको ब्याजदर घटाएका छन् ।
बैंकहरुले कात्तिकको तुलनामा व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर औसतमा शून्य दशमलव ३३ प्रतिशत र संस्थागत मुद्दतिमा शून्य दशमल ३० प्रतिशतले घटाएका हुन् ।
२० वटा वाणिज्य बैंकहरुमध्ये १३ वटाले निक्षेपको ब्याजदर घटाउँदा ६ वटा बैंकले स्थिर राखेका छन् भने एउटा बैंकले ब्याजदर बढाएको छ ।
मंसिरका लागि निक्षेपको ब्याजदर बढाउने एक मात्र बैंक माछापुच्छ्रे रहेको छ । यो बैंकले बचत खातामा ५ दशमलव ६० देखि ८ दशमलव ६ प्रतिशत ब्याज दिने भएको छ । यस्तै मुद्दति निक्षेपमा व्यक्तिगततर्फ १० दशमलव ६ र संस्थागततर्फ ८ दशमलव ६ प्रतिशत ब्याज दिने छ ।
कात्तिककै ब्याजदरलाई मंसिरमा पनि यथावत राख्ने बैंकहरुमा नेपाल बैंक, सिटिजन्स बैंक, सिद्धार्थ बैंक, लक्ष्मी सनराइज बैंक, कुमारी बैंक र प्राइम कमर्सियल बैंक रहेका छन् ।
मंसिरका लागि सबैभन्दा बढी ब्याजदर घटाउने बैंकमा एनआईएसी एशिया रहेको छ । सो बैंकले कात्तिकमा व्यक्तिगततर्फ ११ दशमलव ००३ र संस्थागततर्फ ९ दशमलव ००३ प्रतिशत ब्याज दिएकोमा मंसिरमा क्रमशः ८ दशमलव ९६ र संस्थागततर्फ ६ दशमलव ९६ प्रतिशतमा झारेको छ ।
एनएमबि बैंक, एभरेष्ट, प्रभु, सानिमा र राष्ट्रिय वाणिज्य बैंकले पनि मंसिरका लागि ब्याजदर घटाएका छन् ।
यस्तै स्ट्याण्डर्ड चार्टर्ड, नबिल, कृषि विकास बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा, ग्लोबल आइएमई बैंक, हिमालयन र नेपाल एसबिआईले पनि मुद्दतितर्फ व्यक्तिगत तथा संस्थागत तर्फको ब्याजदर घटाएका छन् ।
प्रतिक्रिया दिनुहोस्