
काठमाडौं । छठ पर्वको आज मुख्य दिन । आज आइतबार षष्ठी तिथिको दिन व्रतालुले नदि, पोखरी आदि जलाशयका किनारमा अस्ताउँदै गरेको सूर्यलाई अर्घ्य दिई रातभर जाग्राम बसेर मनाइँदैछ ।
भोलिपल्ट बिहान सोमबार उदाउँदै गरेको सूर्यको पूजा गरि अर्घ्य दिएपछि यो पर्व सम्पन्न हुन्छ । छठ पर्व कात्तिक शुक्ल चतुर्थी तिथि (शुक्रबार) देखि शुरु भएको हो ।
सूर्यको पूजा तथा व्रत–उपासना गरेमा सन्तान तथा परिवारको सुख, समृद्धि र मनोकामना पूर्ण हुने विश्वास रहेको छ । यो पर्व निकै धैर्य, निष्ठा तथा शुद्धताका साथ मनाउनुपर्ने हुन्छ ।
शनिबार पञ्चमी तिथिको दिन खरना मनाइयो । दिनभर निर्जल व्रत बस्नेहरुले साँझपख खीर पकाएर देवीदेवतालाई चढाएपछि प्रसादका रुपमा खाने गर्दछन् र परिवारका अन्य सदस्यहरुलाई पनि बाँड्ने विधिलाईनै खरना भनिएको हो ।
यसपछि व्रतालु सप्तमी तिथिको बिहानसम्म अर्थात् सोमबार बिहानसम्म व्रत बस्नुपर्ने हुन्छ । आज षष्ठी तिथिको दिन भने नदि वा पोखरीको किनारमा पूजाका सामग्री राखेर अस्ताउँदै गरेको सूर्यलाई अर्घ्य दिइन्छ । यसको भोलिपल्ट सप्तमी तिथिमा उदाउँदै गरेको सूर्यलाई अर्घ्य दिएपछि विधिवत् रुपमा छठ पर्व सम्पन्न हुन्छ ।
छठ पर्वमा सूर्यलाई चढाइने ठेकुवा, भुसुवा, केरा, उखु, नरिवल, मिठाइ, पान, सुपारीआदि विशेष प्रसाद हुन् । यी प्रसादलाई माटोका नयाँ भाँडा तथा बाँसको टोकरीमा राखेर चढाउने प्रचलन छ ।
छठ पर्व विशेष गरि तराईका बासिन्दाले मनाउने गरेको भएपनि हिजोआज भने पहाडका बासिन्दाले पनि निकै उत्साहका साथ मनाउन थालेका छन् ।
प्रतिक्रिया दिनुहोस्