
काठमाडौं । बुल्गेरियासँग २÷२ गोलको बराबरी खेल्दै सर्वियाले अर्को वर्ष हुने युरो च्याम्पियनसिपमा आफ्नो स्थान पक्का गरेको छ ।
आइतबार राति भएको समुह जी को खेलमा सर्वियाले बुल्गेरियासँग बराबरी खेल्दा हंगेरीले मोन्टेनेग्रोलाई ३–१ ले पराजित ग¥यो ।
यो समुहमा १८ अंकसहित शिर्ष स्थानमा रहेको हंगेरी तथा १४ अंकसहित दोस्रो स्थानमा रहेको सर्वियाले अर्को वर्ष जर्मनीमा हुने युरो च्याम्पियनसिप खेल्ने भएका हुन् ।
युरोकप छनौटकै अन्य खेलहरुमा गएराति स्पेनले जर्जियालाई ३–१ ले हराउँदा बेल्जीयमले अजरबैजानमाथि ५–० को जित निकाल्यो ।
यसैगरि स्विडनेले इस्टोनियालाई २–० ले हराउँदा पोर्चुगलले आइसल्याण्डलाई २–० ले तथा स्लोभाकियाले बोस्नीया हर्जगोभिनालाई २–१ ले हराएका छन् ।
गएरातिका खेलहरुपछि युरो च्याम्पियनसिपका लागि २४ मध्ये १७ टोलीको टुंगो लागेको छ ।
यी १७ टोलीहरु अल्बानिया, अष्ट्रिया, बेल्जीयम, डेनमार्क, इंग्ल्याण्ड, फ्रान्स, जर्मनी, हंगेरी, नेदरल्याण्ड्स, पोर्चुगल, रोमानिया, स्कटल्याण्ड, सर्विया, स्लोभाकिया, स्पेन, स्विटजरल्याण्ड र टर्की हुन् ।
इटालीले भने समुह चरणको अन्तिम खेलमा आज राती युक्रेनको सामना गर्नेछ ।
यो समुहबाट इंग्ल्याण्ड छनौट भईसकेको अवस्थामा आज हुने इटाली र युक्रेनको खेलको विजेता दोस्रो हुँदै युरोकपमा पुग्नेछ । खेल बराबरी भएको अवस्थामा इटाली छनौट हुनेछ ।
प्रतिक्रिया दिनुहोस्