
काठमाडौं । नेपाली कांग्रेसले पश्चिम नेपालमा गएको भूकम्पबाट प्रभावितहरुलाई थप सहयोग गर्ने बताएको छ ।
सोमबार नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बसेको पार्टी पदाधिकारी बैठकले यस्तो निर्णय गरेको हो ।
बैठकमा राहत उद्धार, पुनःनिर्माणको लेखाजोखा र त्यहाँका प्रभावित जनतालाई थप सहयोग गर्न कसरी सकिन्छ ? भन्ने विषयमा छलफल भएको पार्टीका नेता एवं अर्थमन्त्री डा. प्रकाशशरण महतले बताउनुभयो ।
बैठकमा समसामयिक विषयमा पनि छलफल भएको बताउनुभयो । उहाँले सरकारले अस्थायी आवासका लागि प्रभावित परिवारलाई दिने भनेको ५० हजार रुपैयाँ आज जिल्ला तहमा पुग्ने बताउनुभयो । अर्थमन्त्री महतले प्रभावित परिवारलाई सहयोगका लागि पार्टीको आह्वानमा खटिन चाहनेहरुले अस्थायी आवास निर्माणका लागि सहयोग गर्नसक्ने बारेमा पन िछलफल भएको बताउनुभयो ।
अर्थमन्त्री महतले मंसिर ७ गतेको आन्दोलनलाई लिएर सरकारले गम्भीर रुपमा हेरिरहेको बताउनुभयो । उहाँले संविधानले जनताका हरेक अधिकारलाई सुनिश्चित गरेको भएपनि समाज भन्दा बाहिर गएर अभिव्यक्ति दिन नहुने बताउनुभयो । उहाँले मंसिर ७ गते दुई पक्षको आन्दोलन भएकाले त्यसबाट आउने समस्याका बारेमा सरकार सचेत रहेको बताउनुभयो ।
अर्थमन्त्री महतले अधिकार प्राप्तिको स्वतन्त्रताका लागि आफूहरु पनि लड्न तयार रहेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्