
काठमाडौं । जाजरकोट भूकम्पपीडितका लागि सरकारले अस्थायी आवास निर्माण गर्न पहिलो किस्ता वापतको रकम निकासा गरेको छ ।
भूकम्पबाट प्रभावित पाँच जिल्लाका लागि सरकारले एक अर्ब ४१ करोड रुपैयाँ निकासा गरेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।
जसमध्ये जाजरकोट र रुकुम पश्चिमका लागि ५०–५० करोड, बझाङका लागि २५ करोड, बाजुराका लागि १४ करोड र सल्यानका लागि दुई करोड रुपैयाँ निकासा भएको हो ।
निश्चित प्रक्रिया पूरा गरेर जिल्ला विपद् व्यवस्थापन समितिको निर्णय अनुसार स्थानीय पालिकामार्फत पहिचान भएका भूकम्पपीडित लाभग्राहीले उक्त रकम पाउने बताइएको छ ।
भूकम्प प्रभावितका लागि अस्थायी आवास निर्माण कार्यविधि, २०८० सरकारले स्वीकृत गरिसकेको छ ।
यस कार्यविधिमा तोकिएअनुसार अनुदान रकम प्राप्त हुन्छ । दुई किस्तामा रकम पठाइने छ भने रकम पठाउँदा स्थानीय तहको सिफारिस अनिवार्य छ ।
अनुदान रकम पाउन प्रभावितले स्वघोषणासहितको निवेदन दिनुपर्नेछ भने उक्त निवेदनमाथि सम्बन्धित जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिले पहिचान तथा सिफारिस गरेका र जिल्ला विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिले स्वीकृत गरेका परिवारलाई अस्थायी आवास लाभग्राही कायम गर्नेछ ।
यसरी कायम भएका लाभग्राहीलाई पहिलो किस्ताबापत २५ हजार रुपैयाँ दिइनेछ । पहिलो किस्ता पाएर निश्चित प्रक्रिया पुगेका र स्थानीय तहले बाँकी रकम दिन उपयुक्त छ भनेर सिफारिस गरेपछि मात्र अन्तिम किस्ता २५ हजार रुपैयाँ प्रदान गरिने जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्