
काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालमा कार्वन उत्सर्जन शुन्य बनाउन कुनै चुनौति नरहेको बताउनुभएको छ ।
मंगलबार काठमाडौंमा आयोजना भएको राष्ट्रिय जलवायु सम्मेलनमा बोल्दै अर्थमन्त्री डा. महतले यस्तो बताउनुभएको हो । उहाँले कार्बन उत्सर्जन कम गर्न नेपालको ४५ प्रतिशत वन जङ्गल बनाएको विषयलाई विश्वले प्रशंशा गर्नुपर्ने बताउनुभयो ।
अर्थमन्त्री महतले नेपालले जलवायु परिवर्तनको असरलाई न्युनिकरण गर्न अक्सिजन धेरै उत्पादन गर्ने र कार्वन उत्सर्जन कम गर्नको लागि ४५ प्रतिशत भू–भाग जङ्गलका रुपमा स्थापित गरिरहेको बताउनुभयो । उहाँले कार्बन उत्सर्जन कम गर्न सवारीसाधनहरु समेत विद्युतीयमा परिमार्जन भइरहेको उल्लेख गर्नुभयो ।
अर्थमन्त्री महतले सन् २०४५ भित्र विशुद्ध शुन्य कार्वन उत्सर्जनमा पुग्ने लक्ष्यमा विश्वले कुनै शंका नराख्न आग्रह गर्नुभयो । उहाँले नेपालले जलवायु परिवर्तनको कारण भोगिरहेको समस्या कार्वन उत्सर्जन शुन्य बनाउँदैमा मुक्त नहुने भन्दै अन्य विकसित देशले पनि पूरा गर्न आवश्यक रहेको बताउनुभयो ।
अर्थमन्त्री महतले विकशित देशले उत्सर्जन गरेको कार्वनको कारण भएको जलवायु परिवर्तनको असर नेपालले भोगिरहेको बताउनुभयो । उहाँले नेपालका हिमालहरुको हिउँ पग्लिएको नेपालले कार्वन उत्सर्जन गरेको कारणले नभएर अन्य देशको कारणले भएको भन्दै विकसित मुलुकहरुले जलवायु परिवर्तनले पारेको असर न्युनिकरण गर्नको लागि आर्थिक सहयोग गर्नुपर्ने बताउनुभयो । उहाँले जलवायु परिवर्तन न्युनिकरणको लागि विभिन्न फण्डहरुबाट पाउनुपर्ने सबै सहयोग नेपालले पनि पाउनुपर्ने माग कोप सम्मेलनमा राखिने बताउनुभयो ।
अर्थमन्त्री महतले नेपालमा जलवायु परिवर्तनले पारेको असर न्युनिकरण गर्ने डोनर एजेन्सीहरुबाट सहयोग लिएर नेपालमा रिपोर्ट मात्रै प्रश्तुत गर्ने भन्दा पनि कार्यक्रम ल्याउन आग्रह गर्नुभयो । उहाँले सन् २०३० भित्र नेपालको कुल ऊर्जा मागको १५ प्रतिशत स्वच्छ ऊर्जा स्रोतबाट परिपूर्तिको सुनिश्चितता गर्ने गरी नेपालमा जलविद्युतमा लगानी भइरहेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्