
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’को परिकल्पना साकार गर्न एमालेको एकल सरकार आवश्यक भएको बताउनुभएको छ ।
एमाले पर्साद्वारा मंगलबार वीरगन्जको पोखरियामा आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले मुलुकलाई समृद्धिको मार्गमा अघि बढाउन आफ्नो पार्टीको एकल सरकार अपरिहार्य भएको बताउनुभयो । आगामी निर्वाचनमा एमालेलाई बहुमत प्राप्त हुनेगरी आ–आफ्नो क्षेत्रबाट इमानदारीपूर्वक काम गर्न पार्टीका नेता कार्यकर्तालाई उहाँको निर्देशन थियो ।
अध्यक्ष ओलीले केही वर्षअघि तराई मधेसका जिल्लामा सञ्चालन गरिएको ‘मेची–महाकाली यात्रा’जस्तै जागरण अभियान यही मङ्सिर १४ गतेदेखि महाकालीबाट सञ्चालन गरिने बताउनुभयो । तराई–मधेस बहुप्रतिक्षित हुलाकी सडक, मदनभण्डारी लोकमार्ग, पूर्वपश्चिम लोकमार्ग स्तरोन्नति, जनता आवास कार्यक्रम तथा राष्ट्रिय गौरवका आयोजना एमाले नेतृत्वको सरकारले ल्याएको अध्यक्ष ओलीले दाबी गर्नुभयो ।
अध्यक्ष ओलीले मुलुकमा अहिलेको गठबन्धनको सरकारका कारण चरम बेथिति, भ्रष्टाचार र आर्थिक मन्दी बढ्दै गएकाले यी सबैबाट देशलाई बाहिर निकाल्न मुलुकमा एमाले नेतृत्वको सरकार नै आवश्यक भएको उल्लेख गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्