
काठमाडौं । प्रकृतिमैत्री दिगो पूर्वाधार निर्माणका लागि राष्ट्रपति रामचन्द्र पौडेलले आह्वान गर्नु भएको छ ।
राष्ट्रपति पौडेलले जलवायु परिवर्तनका कारण बढ्दै गइरहेको प्राकृतिक विपत्तिसँग जुध्नका लागि भौतिक पूर्वाधारको क्षेत्रमा विशेष शतर्कता अपनाउनु जरुरी रहेको बताउनुभएको हो ।
बुधवारबाट काठमाडौंमा शुरु भएको एशियाली तथा पश्चिम प्रशान्त क्षेत्रका १८ मुलुकका निर्माण व्यवसायीहरुको अन्तर्राष्ट्रिय छाता संस्था इफाप्का (इन्टरनेशनल फेडेरेशन अफ एशियन एण्ड वेस्ट्रन प्यासिफिक कन्ट्याक्टर्स) को ४६ औं अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै उहाँले उक्त कुरा बताउनुभएका हो ।
राष्ट्रपति पौडेलले कुनैपनि मुलुकको आर्थिक विकासमा भौतिक पूर्वाधारले महत्वपूर्ण भुमिका खेल्ने गरेको बताउनु भयो । उहाँले ‘पृथ्वी रहे मात्र हामी रहन्छौं’ भन्ने मान्यतालाई आत्मसात गर्दै प्रकृतिमैत्री दिगो पूर्वाधार निर्माणका लागि आह्वान गर्नुभयो ।
संगठनले जलवायु परिवर्तनको एजेण्डालाई प्राथमिकताका साथ उठान गर्नुपर्ने आवश्यकता रहेको बताउँदै राष्ट्रपति पौडेलले कार्वन उत्सर्जनमा कटौती गरी प्रकृति सुहाउँदा पूर्वाधार निर्माणमा जुट्न आग्रह गर्नुभयो ।
कार्यक्रममा उहाँले भौतिक पूर्वाधारको क्षेत्रमा उल्लेख्य विकास गरेका मुलुकहरूले नै आर्थिक प्रगति गरेका छन् तर भौतिक पूर्वाधारको विकाससँगै हामीले यससँग सम्बन्धित अन्य पक्षहरूलाई पनि विशेष ध्यान दिनुपर्ने समय आएको बताउनुभयो ।
इफाप्कामा आवद्ध मुलुकहरू बढी मात्रामा जलवायु परिवर्तनसँगै प्राकृतिक विपत्तिको शिकार भइरहेको परिप्रेक्ष्यमा यस संगठनले जलवायु परिवर्तनको एजेण्डालाई प्राथमिकताका साथ उठान गर्नुपर्ने आवश्यकता रहेको औल्याउँदै उहाँले यसका लागि इफाप्का आवद्ध मुलुकहरूबीचको आपसी समन्वय अझ प्रभावकारी हुनुपर्नेमा जोड दिनुभयो ।
राष्ट्रपति पौडेलले विश्व अर्थतन्त्रलाई चलायमान बनाउन निर्माण व्यवसायीहरूको भुमिका अत्यन्त महत्वपूर्ण हुने भएकाले संकटग्रस्त अर्थतन्त्रलाई सही बाटोमा ल्याउन संगठनबाट सकारात्मक भुमिकाको अपेक्षा गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्