
काठमाडौं । ललितपुर महानगरपालिकाले अत्याधुनिक प्रविधिका दुईवटा दमकललाई आजदेखि सञ्चालनमा ल्याएको छ ।
बुधबार एक कार्यक्रममा ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले उक्त दमकलहरुको उदघाटन गर्नु भयो ।
महानगरपालिकाले विपद् व्यवस्थापन न्यूनीकरण तथा व्यवस्थापनका लागि इसुजी कम्पनीका दुईवटा अत्याधुनिक प्रविधिको दमकल खरिद गरेको जानकारी गराएको हो ।
पाँच करोड ६६ लाख रुपैयाँ मूल्य पर्ने यी दुई दमकल खरिदका लागि महानगरपालिकाले ८ महिनाअघि सम्झौता गरेको थियो ।
अहिले ल्याइएको दमकलमा २ हजार ५ सय लिटर पानी र ३ सय लिटर फोम ट्यांकीको क्षमता रहेको छ ।
यी दमकल अरु भन्दा सानो भएकाले साँघुरो बाटोमा समेत जानसक्ने भएको हुँदा विपद् व्यवस्थापन न्यूनीकरण तथा व्यवस्थापनका लागि सहज हुने महानगरपालिका प्रमुख महर्जनले बताउनु भयो ।
यी दमकलले ५० डिग्री कोणसम्म पानी फाल्ने र सात तला माथिसम्मको आगलागी निभाउन सक्ने महानगरपालिकाले जनाएको छ । ललितपुर जुद्ध बारुण यन्त्रसँग नयाँ दमकलसहित अब ६ वटा दमकल रहेको छ ।
प्रतिक्रिया दिनुहोस्