
काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले लामो संघर्ष र आन्दोलनबाट प्राप्त भएको व्यवस्थालाई संस्थागत गर्न सबै राजनीतिक दलहरु सचेत हुन आवश्यक रहेको बताउनुभएको छ ।
बुधबार शंखधर साख्वा दिवस विशेष कार्यक्रमलाई सम्बोधन गर्दै कांग्रेस नेता सिंहले यस्तो बताउनुभएको हो । उहाँले सबै मिलेर अधिकार प्राप्तिको लागि आन्दोलनबाट ल्याएको व्यवस्थालाई सुरक्षित गर्न सबै एक ठाउँमा आउनुपर्ने बताउनुभयो ।
नेता सिंहले २०१७ सालमा गुमेको अधिकार प्राप्त गर्न ३० वर्ष लामो संघर्ष गर्नुपरेको विषयलाई सबै राजनीतिक दलहरुले विर्सन नहुने बताउनुभयो । उहाँले २०४६ सालमा गणेशमान सिंहको नेतृत्वमा सबै राजनीतिक पार्टीहरुको कार्यगत एकताको आधारमा आन्दोलन गरी गुमेको अधिकार प्राप्त गरेको सम्झना सबैलाई रहेको उल्लेख गर्नुभयो । उहाँले कसैले कुनै ठाउँबाट कुनै आवाज निकाल्यो भन्दैमा डराउन नहुने बताउनुभयो ।
नेता सिंहले २०६३ को जनआन्दोलनपछि दुई वटा संविधान सभाको निर्वाचन गरेर प्राप्त गरेको संघीय लोकतान्त्रिक गणतान्त्रत्मक समावेशी संविधानलाई सुरक्षित राख्दै संविधानको भावना र मर्मलाई कार्यान्वयन गर्न सरकारले आवश्यक संघीय कानूनहरु निर्माण गरेर अधिकार दिलाउने काम गर्नुपर्ने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्