२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


बैंकको ऋण बढी लिनेले तिर्दिन भन्न मिल्दैन : अर्थमन्त्री महत


364
Shares

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले बैंकको ऋण बढी लिनेले तिर्दिन भन्न नमिल्ने बताउनुभएको छ ।

बुधबार भक्तपुरमा शंखधर दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै अर्थमन्त्री महतले यस्तो बताउनुभएको हो । उहाँले मुलुकको अर्थतन्त्रका विषयलाई समेत लिएर जथाभावी बोल्दै हिँड्नेले बैंकको ऋण बढी लिएर तिर्दिन भन्न नमिल्ने बताउनुभयो ।

अर्थमन्त्री महतले ऋण लिएर खाने र १० ठाउँमा लगाएर बैंकको ऋण तिर्दिन प्रवृति गलत भएको बताउनुभयो । उहाँले बैंकको ऋण लिएर व्यवसाय गर्दा गर्दै तिर्न नसक्ने व्यवसायीहरुलाई नीतिगत रुपमा राज्यले हेर्ने बताउनुभयो ।

अर्थमन्त्री महतले बद्मासी नगर्ने तथा व्यवसाय गर्दा गर्र्दै समस्या परेकाहरुको लागि राज्यले सहजिकरण गर्न तयार रहेको बताउनुभयो । उहाँले पछिल्लो समय विश्व अर्थतन्त्र नै शिथिल भएर मन्दीमा रहेको भन्दै नेपालको अर्थतन्त्र सकारात्मक दिशामा रहेको बताउनुभयो । उहाँले कोभिड महामारी,भूकम्प लगायतका असर भोगेर पनि नेपालको अर्थतन्त्र सकारात्मक रहेको बताउनुभयो ।

अर्थमन्त्री महतले नेपालका राम्रो रेमिट्यान्स र पर्यटन आगमन उच्च रहेकाले अर्थतन्त्रमा थप सकारात्मक बन्ने अवस्थामा रहेको बताउनुभयो । उहाँले सरकारले देशका ठूला सडकमा मात्रै लगानी गर्नसके पर्यटन क्षेत्रले मात्रै नेपालको आर्थिक रुपान्तरणमा ठूलो योगदान गर्ने विश्वास रहेको बताउनुभयो । उहाँले बैंकहरुबाट धेरै ऋण प्रवाह भएकाले मानिसहरुले धेरै लगानी जग्गा, शेयर र क्रिप्टोमा पनि लगानी गरेकाले बजारमा केही समस्या रहेको बताउनुभयो ।

अर्थमन्त्री महतले अफवाह बोल्दै हिड्नेहरुको मुख बन्द गर्नुपर्ने अवस्था आएको बताउनुभयो । उहाँले लामो संघर्ष,मेहनत र योगदानबाट ल्याएको लोकतन्त्र व्यवस्था माथि आँच आउन दिन नहुने बताउनुभयो । उहाँले बोल्नेहरुले विगतको समय सुनौलो युग थियो भन्नु गलत भएको भन्दै अहिलको व्यवस्थाले धेरै परिर्वतन आएको बताउनुभयो ।

अर्थमन्त्री महतले लोकतान्त्रिक पद्धतीमार्फत नै मुलुकको समृद्धि सम्भव रहेको बताउनुभयो । उहाँले अहिलेको व्यवस्थालाई खोस्ने सोच कसैले बनाएको भए त्यो सफल हुन नसक्ने बताउनुभयो ।