८ बैशाख २०८२, सोमबार | Tue Apr 22 2025


‘बजेटको ७० प्रतिशत कार्यान्वयन गर्नसके ठूलो उपलब्धि’


0
Shares

प्रदीप पौडेल (इमेज)

पोखरा, असार ५ । प्रदेश नम्बर–४ का आन्तरिक मामिला तथा योजनामन्त्री किरण गुरुङले बजेटको ७० प्रतिशत कार्यान्वयन गर्नसके ठूलो उपलब्धि हुने बताएका छन् ।

मंगलबार प्रदेश–४ को प्रदेशसभा बैठकमा आर्थिक वर्ष २०७५/०७६ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि प्रदेशसभा सदस्यहरुले उठाएका प्रश्नहरुको जवाफ दिँदै उनले यस्तो बताएका हुन् ।

‘बजेटलाई यथार्थपरक र वैज्ञानिक बनाउन मध्यमकालीन खर्च संरचनाको आधारमा तीन वर्षे कर्यक्रम ल्याइएको छ । कार्यान्वयन र खर्च गर्नसक्ने गरी बजेट ल्याइएको हुँदा बजेटको आकार सानो देखिएको हो’–उनले भने ।

उनले बजेटमा सडक, आवास, खानेपानी, सिँचाइलगायतका भौतिक पूर्वाधार निर्माणमा ५० प्रतिशत, कृषि र पशुमा १३ प्रतिशत, सामाजिक क्षेत्रमा २० प्रतिशत र अन्यमा १७ प्रतिशत बजेट विनियोजन भएको हुँदा सबैलाई समेटेको महसुस आफूले गरेको बताए ।

‘२० लाख पर्यटक भित्र्याउने लक्ष्यका साथ बजेट छुट्टाइएको छ’–उनले भने–‘पर्यटक भित्र्याउन पनि पूर्वाधार त चाहियो नि ! पूर्वाधारमा हालिएको बजेट पनि पर्यटनसँग प्रत्यक्ष सम्बन्धित भएको हुँदा पूर्वाधारमा बढी बजेट देखिएको हो ।’

बैठकले प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई बहुमतले पारित गरेको छ ।

प्रदेश–४ सरकारले २४ अर्ब २ करोड ३३ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको थियो ।

बजेटले पर्यटन, कृषि, ऊर्जा, सडक, खानेपानीलगायत क्षेत्रलाई प्राथमिकतामा राखेको छ ।