
ओखलढुंगा । ओखलढुंगाको लेकाली भेगमा पाइने अर्गेलीले मूल्य नपाउँदा कृषक मारमा परेका छन् ।
यहाँ उत्पादित अर्गेली जापान समेत निकासी हुने गरेको भए पनि कृषकले उत्पादनको परिश्रम र प्रशोधनको मूल्य निकै कम पाउने गरेका छन् ।
यहाँका कृषकले अर्गेलीको बोक्रा प्रतिधार्नी ७५ रुपैयाँदेखि १ सय ५० रुपैयाँ मात्रै पाउने गरेको सिद्धिचरण नगरपालिकाको टोड्केका कृषक राजेश श्रेष्ठले बताउनुभयो ।
मूल्य थोरै हुँदा अर्गेलीको लागत मूल्य समेत नउठ्ने गरेको कृषकको भनाइ छ । अर्गेली जिल्लाका ठाडे, टोड्के, पात्ले, जन्तरखानी, भुसिंगा, ककनीलगायतका क्षेत्रमा पाइने गरेको छ ।
यो सिजनमा अर्गेलीको डाँठबाट बोक्रा निकालेर घाममा राम्रोसँग सुकाएपछि बाहिर निकासी गर्ने गरिन्छ ।
जिल्लामा अर्गेली उत्पादनको यकिन तथ्यांक सरकारी कार्यालयसँग छैन । तर जिल्लाबाट गएको आर्थिक वर्षमा ५ हजार २ सय ५९ केजी अर्गेली निकासी भएको डिभिजन वन कार्यालय ओखलढुंगाको तथ्यांकले देखाउँछ ।
प्रतिक्रिया दिनुहोस्