
अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्क नगरपालिकामा रहेको प्रसिद्व सुपा देउराली मन्दिरमा उठेको भेटीबाट भूकम्प पीडितलाई आर्थिक सहयोग गरिने भएको छ ।
जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितका लागि १ लाख ५१ हजार रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरिएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष फर्शबहादुर केसीले जानकारी दिनुभयो । दैविप्रकोप तथा विपद् व्यवस्थापन समितिको खातामा उक्त रकम सहयोग गरिने उहाँले बताउनुभयो ।
२०७२ सालको भूकम्पमा पनि मन्दिरले भेटीबाट १ लाख रुपैयाँ सहयोग गरेको थियोे । दिनप्रतिदिन मन्दिरको दर्शन गर्नका लागि आन्तरीक र बाह्य पर्यटकको भिड लाग्ने गरेको छ । यस्तै, मन्दिरले १० जना निजी शिक्षक राखेर विद्यालय सञ्चालन समेत गर्दै आएको छ ।
सन्धिखर्क खाँचीकोटको आदर्श माध्यमिक विद्यालयमा ७० हजार, शीतगङ्गा-२ को शान्ति आधारभूत विद्यालयमा ६२ हजार पाँच सय, सीता आधारभूत विद्यालयमा २१ हजार छ सय र देउराली आधारभूत विद्यालयमा ११ हजार छ सय खर्च हुने गरेको मन्दिर व्यवस्थापन समितिले जनाएको छ । यो बाहेक अन्य गाउँका विकास निर्माणमा पनि खर्च हुने गरेको मन्दिर व्यवस्थापन समितिका भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्