२७ फाल्गुन २०८१, मंगलबार | Wed Mar 12 2025


हमासको बन्धकबाट मुक्त भएकाले पाए परिवार


2.873k
Shares

काठमाडौं । प्यालेस्टाइनी बिद्रोही समूह हमासले गत अक्टोबर ७ मा इजरयालमाथि आक्रमण गर्ने क्रममा जो भेटिए उनीहरुलाई अपहरण गरे । हमासको कब्जामा पर्नेहरुमा विभिन्न देशका २४० जना रहेको पुष्टि हुन लामो समय पर्खिनुपर्‍यो । इजरायल र हमासबीचको सम्झौतापछि मुक्त भईरहेकाहरुका भने कब्जामा रहँदाका आ–आफ्नै पीडादायी कथा छन् ।

हमासले बन्धक रिहाइका लागि इजरायललाई युद्ध रोक्न शर्त राख्दा सुनेको नसुन्यै गरेको इजरायल अन्ततः बन्धक रिहाइकै लागि अल्पकालिन युद्धविराम गर्न तयार भयो । इजिप्ट र टर्कीको मध्यस्थतामा चारदिने अल्पकालिन युद्धविराम गरेको इजरायलले आफ्नो कारागारमा रहेका प्यालेस्टेनी बन्दीको रिहा गरेपछि हमासले पनि आफनो कब्जामा रहेका ५० भन्दा बढी बन्धकलाई रिहा गरेको छ ।

हमासले दोस्रो खेपमा रिहा गरेकाहरु मध्ये ३ बर्षिया अमेरिकी बालिका एभिगेल इडान पनि छन् । गत अक्टोबर ७ मा हमासको आक्रमणबाट आँखै अगाडि बाबु आमा मारिएको घटनाकी प्रत्यक्षदशी इडान बाबुआमाथिको आक्रमणलगत्तै छिमेकीकहाँ शरण लिन पुग्दापुग्दै हमासको कब्जामा परेकी थिइन् । हमासको आक्रमणका क्रममा उनका दिदी र दाजु भागेकाले इडान अहिले सानीआमाको संरक्षणमा पुगेकी छन् । इडान त एउटा उदाहरण मात्रै हुन । हमासको अपहरणमा परेका अर्को अमेरिकी परिवारका ४ जनाको कथा बेग्लै छ । हमासको कब्जाबाट मुक्त भएर ८ र १५ बर्षका दिदिबहिनी घर फर्कदा घरमा रुवाबासी चलेको थियो ।

गत अक्टोबर ७ मा डाप्ना र एला दुई छोरी हमासले कब्जामा लिएपछि खानै नखाई बसेकी उनीहरुकी आमाले सामान्य जीवनमा फर्कन वषौं लाग्ने बताएकी छन् । यस्तै विद्यालयबाट फर्कने क्रममा हमासको कब्जामा परेका अर्का नौ वर्षिय अमेरिकी बालक वहाद मुन्दर रिहाई लगत्तै आफना बुबासमक्ष पुग्दाको दृश्य पनि उत्तिकै मार्मिक थियो । यसैगरी श्रीमती र दुई छोरीहरु हमासको कब्जामा परेपछि उनीहरु जिवितै फर्किने आशा मारिसकेका अर्का अमेरिकी नागरिक असर युनीले हमासको कब्जाबाट मुक्त भएकाहरुलाई लिएर आएको ट्रकमा आसा मारेका श्रीमती र छोरीहरु देख्दा युनीको हर्षको सीमा रहेन । तर, आफ्ना प्रियजनहरु फर्केर आए पनि हमासको कब्जामा रहेका सबै रिहा नहुन्जेल खुशियाली नमाउने उनले बताएका छन् ।

यस्तै, १७ वर्षिया र १३ वर्षिय अमेरिकी दिदीभाइ पनि हमासको बन्धनबाट मुक्त त भए तर उनीहरुले मुक्त हुने वित्तिकै हमासको आक्रमणबाट बाबुआमा मारिएको खबर सुन्नुपर्‍यो । हमासले मुक्त गरेकाहरुमा ८५ वर्षका वृद्धादेखी ३ वर्षिया बालिकासम्म छन् । हमासको कब्जामा अझै पनि थुप्रै नागरिकहरु छन् । त्यस मध्येका नेपाली नागरिक विपिन जोशी पनि हुन । आशा गरौं, अर्को खेपको रिहाइमा विपिन पनि सकुशल मुक्त हुने छन् ।