
काठमाडौं । खानेपानीमन्त्री महिन्द्रराय यादवले काठमाडौंबासीलाई छिटोभन्दा छिटो मेलम्चीको पानी खुवाउने बताउनुभएको छ ।
काठमाडौंबासीले सो पानी एक हप्ताभित्र व्यवस्था गर्न दवाव दिइरहेका बेला मन्त्री यादवले मंगलबार अर्थमन्त्री डा. प्रकाशशरण महतसँग छलफल गरेपछि सञ्चारकर्मीमाझ सो प्रतिवद्धता व्यक्त गर्नुभएको हो । खानेपानी उपभोक्तासँगै अर्थमन्त्री महतसँग भेट गर्नुभएका उहाँले त्यसका लागि आवश्यक बजेटको व्यवस्था गर्ने विषयमा अर्थ मन्त्रालय सकारात्मक छलफल भएको पनि बताउनुभयो ।
मन्त्री यादवले फेरि उपभोक्ता, भेन्डरसहित अर्थ मन्त्रालयसँग छलफल गरेर मेलम्चीको पानी काठमाडौं ल्याउने काममा देखिएको समस्या समाधान गर्नेे आश्वासन दिनुभयो ।
यता, काठमाडौंबासीले भने एक हप्ताभित्र मेलम्चीको पानी काठमाडौंमा ल्याउने व्यवस्था गर्न सरकारलाई दवाव दिएका छन् । एक हप्ताभित्र पनि सो पानी काठमाडौं ल्याउने व्यवस्था नगरे सरकारविरुद्ध आन्दोलन गर्ने उनीहरुको चेतावनी छ ।
कोटेश्वरका स्थानीय हरि गौतमले अर्थमन्त्रीसँगको भेटमा सो पानी एक हप्ता भित्र काठमाडौं आउने गरी आवश्यक बजेटको व्यवस्था गर्न माग गरिएको बताउनुभयो । गौतमकाअनुसार ११ करोड, ५० लाख ६६ हजार हेलम्बुका स्थानीयले माग गरेको रकम सरकारले तत्काल उपलब्ध गराए खानेपानी ल्याउने काममा देखिएको अवरोध हटने छ ।
यसैबीच, हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले मेलम्चीको पानी काठमाडौं ल्याउने कुरामा हेलम्बुका स्थानीयले कुनैपनि अवरोध नगरेको स्पष्ट पार्नुभएको छ । मंगलवार अर्थमन्त्री डा. प्रकाशशरण महतसँगको भेटपछि उहाँले सञ्चारकर्मीमाझ सो कुरा प्रष्टयाउनु भएको हो । अध्यक्ष शेर्पाले स्थानीयसँग गरेको सम्झौता अनुसारको बजेट भने तत्काल व्यवस्था गर्न पनि सरकारलाई दवाव दिनुभयो ।
अध्यक्ष शेर्पाले स्थानीयसँग गरिएको सम्झौता पूरा नगरेको भन्दै सरकारको आलोचना पनि गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्