
कैलाली । कैलालीको त्रिनगर भन्सार नाकामा रहेको प्लान्ट क्वारेन्टिन कार्यालय तीन महिनादेखि बन्द भएको छ । कार्यालयमा कर्मचारी नबसेपछि भारतबाट खाद्यान्न, तरकारी तथा फलफूल लगायतका सामान आयात ठप्प हुँदा सर्वसाधारणलाई मर्का परेको छ ।
सरकार संग कैलालीका ब्यवसायीहरुले पटक पटक प्लान्ट क्वारेन्टिन सञ्चालनको माग राखेपनि सरकारी निकायले बेवास्ता गरेका छन् । प्लान्ट क्वारेन्टाइन कार्यालय त्रिनगर नाकामा प्लान्ट क्वारेन्टिन राखिएको थियो । सो क्वारेन्टाइनलाई अवैध भन्दै कार्यालयमा खटाइएका कर्मचारीलाई विभागमा तानेपछि यस नाकाबाट खाद्यान्न, तरकारी र फलफूल आयात ठप्प भएको हो ।
खाद्यान्न, तरकारी र फलफूल नभित्रिएपछि यहाँका उधोगधन्दा ठप्प हुनुका साथै खाद्यान्न अभाव हँदा सर्वसाधारणलाई मर्का परेको छ । क्वारन्टिनमा कर्मचारी नपठाएपछि आयात ठप्प हुँदा यहाँका ब्यवसायी पनि मारमा परेका छन् । उनीहरुले नेपालगञ्जको रुपैडिया नाकाबाट महगों भाडा तिरेर खाद्यान्न तथा तरकारी आयात गर्नुपरेको गुनासो गरेका छन् ।
प्लान्ट क्वारेिन्टन कार्यालयले नेपाल आयात हुने खाद्यान्न, तरकारी र फलफूलमा किराजन्य संक्रमण चेकजाँच गर्छ । खाद्य प्रविधिको जाँच गरेपछि प्लान्ट क्वारेन्टिनले कीराजन्य संक्रमणको जाँच गरेपछि मात्रै खाद्यान्न, तरकारी तथा फलफूलजन्य वस्तु नेपाल भित्रिने गर्छ । वषौँदेखि सञ्चालित क्वारेन्टिनलाई अवैध क्वारेन्टिन भन्दै बन्द गरिएपछि मारमा परेका ब्यवसायीहरुले पुनः क्वारेन्टिन सञ्चालनको माग राख्दै प्रधानमन्त्रीदेखि सम्बन्धित मन्त्री र सचिवसंग हारगुहार गरेपनि अझै समस्या समाधान हुन नसकेको कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरले बताउनुभयो ।
क्वारेन्टिन पुनः सञ्चालनका लागि सुदूरपश्चिम प्रदेश सरकारले समेत संघ सरकारलाई आग्रह गरेको छ । सुुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल शाहले प्रधानमन्त्री पुष्पकमल दाहाललाई क्वारेन्टिन सञ्चालनका लागि पत्रनै पठाइसकेका छन् । चाँडै संघ सरकारले यहाँका ब्यवसायीका समस्या सुन्ने र समाधान हुने अपेक्षा लिइएको मुख्य मन्त्री शाहले बताउनुभयो ।
कैलाली भन्सार कार्यालयले पनि यस नाकाबाट आयात हुने मुख्य वस्तु नै खाद्यान्न, तरकारी र फलफूल रहेको जनाएको छ । ‘मासिक २० करोडको राजश्व खाद्यान्न, तरकारी र फलफूलजन्य सामानबाट संकलन हुन्छ । तर पछिल्लो पटक त्रिनगर भन्सार कार्यालयमा रहेको प्लान्ट क्वारन्टिन तथा विषादी व्यवस्थापन केन्द्र हटाइयो र धनगढी नाकालाई प्लाण्ट क्वारेन्टिनविहीन बनाइएको आरोप यस क्षेत्रका नागरिकको छ ।
प्रतिक्रिया दिनुहोस्