
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मातहतका निकायको कामकारबाहीप्रति असन्तुष्टि व्यक्त गर्नुभएको छ ।
बुधबार काठमाडौंमा आयोजित ‘गीत संगीत र रेडियो नेपाल’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै सञ्चारमन्त्री शर्माले आफू मातहतका निकाय ‘सिरानीमा सुन राखेर नुन खोज्न हिँड्नेजस्ता’ भएको भन्दै असन्तुष्टि व्यक्त गर्नुभएको हो ।
मन्त्री शर्माले रेडियो नेपालसहितका सञ्चार मन्त्रालय मातहतका निकायमा सम्पती भएपनि त्यसको सदुपयोग गर्न नसकिएको बताउनुभयो । उहाँले रेडियो नेपालमा देखिएको समस्या तत्काल समाधान गर्न त्यसका व्यवस्थापनलाई निर्देशन दिनुभयो । मन्त्री शर्माले पुराना स्रष्टा र सर्जकहरुलाई सम्मान गर्ने कुरामा सरकारले कञ्जुस्याँई गर्न नहुने पनि पटकपटक दोहोर्याउनुभयो ।
मन्त्री शर्माले रेडियो नेपालसहितका निकायहरुलाई प्रभावकारी बनाउन कानून बाधक भए सो समस्या समाधान गर्न आफू प्रतिवद्ध रहेको पनि बताउनुभयो । त्यस अवसरमा उहाँले पुराना स्रष्टा र सर्जकहरुलाई रोयल्टी दिने कुरामा सरकार गम्भिर रहेको समेत बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्