
नयाँ ठाउँको भ्रमण मेरो रुचिको विषय हो । यसअघि नपुगेको ठाउँ भएकोले साथीहरूको प्रस्तावमा मेरो असहमति हुने त कुरै भएन । प्राकृतिक अनि धार्मिक दृष्टिले निकै महत्व बोकेको गोसाइँकुण्ड ।
जुन मेरो यात्रा गर्ने स्थलको लामो सूचिमा सुरुतिर नै परेको थियो । यात्राको नयाँ गन्तव्य सम्झिँदा त्यसैत्यसै पुलकित हुने मान्छे म । अक्सर यात्राको क्रममा मन चञ्चल त हुन्छ नै , केही सिक्ने , केही जान्ने, केही नयाँ देख्ने र भोग्ने उत्सुकताले नजानिँदो गरी मनमा खुशीको तरङ्ग जगाइदिन्छ । नयाँ ठाउँ थाहा पाउनासाथ त्यसबारे सूचना सङ्कलन गर्ने मेरो आदत । गोसाइँकुण्डको बारेमा पनि केही जानकारी भने सङ्कलन गरिसकेकी थिएँ । हामीले यात्रालाई सहज र रोमाञ्चक बनाउनको लागि अघिल्लो दिनमा नै भाटभटेनी पुगेर खानेकुरा लगायत बाटोमा आवश्यक पर्ने सम्पूर्ण सामान किनमेल गरेका थियौँ । भोलिपल्ट सबेरै हिँड्ने भने तापनि विद्यालयमा काम नसकिएकोले हामी दिनको २ बजे मात्र यात्राको लागि निस्किन भ्यायौँ । हाम्रो पहिलो दिनको गन्तव्य रसुवाको धुन्चेसम्म थियो ।

हामी जम्मा ८ जना साथीहरू मात्र भएकोले धुन्चेसम्मको लागि एउटा स्कार्पियो रिजर्व गरेका थियौँ । यसअगाडि म नुवाकोटको बिदुरसम्म मात्र पुगेकी थिएँ। त्यसैले त्यहाँबाट अगाडिको सबै बाटो मेरो लागि नयाँ थियो र केही साथीहरू पनि नयाँ नै । किनकि सबैजना एउटै संस्थाका सहकर्मी पनि थिएनौँ । हामीहरू गाडीमा नै एकअर्काबीच परिचित हुँदै र रमाइलो गर्दै झमक्क साँझमा धुन्चे पुग्यौँ । त्यहाँको दुधकुण्ड होटेलमा पहिले नै खाने बस्ने बन्दोवस्त मिलाएका थियौँ । त्यो रात त्यहीँ बस्यौँ । भोलिपल्ट बिहान सूर्योदय हुनु अगावै तातो चिया पिएर गोसाइँकुण्डको पदयात्रा सुरु ग¥यौ । थोरै अगाडि पुगेपछि उकालीको सहाराको लागि हामीले एकएक वटा लठ्ठी किन्यौँ । ठाडो उकालो सुरु हुनुभन्दा पहिले हामी त्रिशुली नदीको छेउछेउ हिँडिरहेका थियौँ । निकै कञ्चन पानी कलकल बगिरहेको त्यो मनमोहक दृश्यमा फोटो भिडियो खिच्न त छुटाउने कुरै भएन । धित मर्नेगरी फोटो खिच्यौँ र भिडियो बनायौँ । सायद माथि चढ्न नसक्नेको लागि भनेर होला फेदीमा नै गोसाइँकुण्डको दर्शन गर्ने मन्दिर पनि बनाइएको रहेछ र त्यसलाई मिनी गोसाइँकुण्ड भनेर चिनिँदो रहेछ ।

यात्रामा नै राम्रोसँग परिचित भएका हामी, देख्नेलाई लाग्थ्यो हामीहरु बाल्यकादेखिका साथी हौँ । रमाइला गफ गर्दै गीत गाउँदै र नाच्दै देउराली पुगेको त पत्तै भएनछ । बाटोमा कुण्डमा पुगेर फर्किनेहरु पनि उत्तिकै भेटिन्थे र अझै कुण्ड पुग्न कति छ ? बाटो कस्तो छ ? भनेर सोध्न भने हामी कसैलाई छुटाउँदैनथ्यौँ । सबैले आ–आफ्ना अनुभूति छोटकरीमा बताएर आफ्नो बाटो लाग्थे । बाटोमा भेटिने अपरिचत व्यक्ति एकैछिनमा परिचित हुने र मिठो आत्मीयता गाँसिने यात्राको एउटा विशेषता पनि हो । बाटोमा नेपाली मात्र नभई विदेशी पर्यटक पनि उत्तिकै भेटिन्थे । इजरायलीहरुले गोसाइँकुण्डलाई फ्रोजन लेक भनेर चिन्दारहेछन् र धेरैजसो इजरायलीहरु यहाँ घुम्न आउने रहेछन् । उनीहरुसँग पनि रमाइलो गर्दै जिस्किन भने हामीले छोडेनौँ ।
उकालो चढ्दै थियौँ । घाम पनि यसरी लागेको थियो चितवनको चैत, वैशाखको झल्को मेटाउने गरी । चिसो ठाउँमा त घाम प्यारो हुनुपर्ने हो तर यहाँ भने हामीलाई घामले बढी नै प्रेम गरिरहेको थियो । चिसोमा लगाउन लगेका सबै लुगा भारी भइरहेका थिए । जाडो होस् या गर्मी, घाम होस् या पानी नयाँ ठाउँमा पुगेपछि फोटो र भिडियो त मेरो प्राथमिकतामा पर्ने गर्दछन् । बाटोमा विभिन्न पोजका फोटो खिच्दै दिनको बाह्र बजेतिर धिम्सा पुग्यौँ । खानाको लागि पहिले नै कल गरिसकेका थियौँ । तयारी खाना खाँदै गर्दा बाटोमा खिचिएका तस्बिर र भिडियो फेसबुकमा सेयर गर्दै थिएँ । खाना खाने ठाउँमा पाएको नेट सदुपयोग गर्ने त्यहाँ म मात्र एक्ली थिइनँ । विज्ञान र प्रविधिले निकै फड्को मारिसकेको छ । कुनै समय आफूले खिचेको तस्बिर हेर्न महिनौँ कुर्नुपर्थ्यो तर आज छिनभरमा नै संसारलाई देखाउन सकिन्छ ।

एक घण्टाको विश्रामपछि फेरि आफ्नो यात्रालाई अगाडि बढायौँ । हामीले यात्राको क्रममा तामाङ संस्कृतिसँग पनि नजिकिने अवसर पाएका थियौँ । माथि चढ्दै जाँदा हामीले अक्सिजन लेवल नाप्दै अलिक कम देखिने साथीलाई तलै झर्न भन्दै जिस्क्याइरहेका थियौँ । समय अड्कलेर गरिएको यात्रा सँधै हतारो नै हुन्छ । झमक्क साँझमा हामी ३६८४ मिटर उचाइमा रहेको चोलाङपाटी भन्ने ठाउँमा पुग्यौँ । त्यहाँ पुग्दासम्म केही साथीहरु भने भोलिपल्ट त्यहीँबाट फर्किने स्थितिमा पुगिसक्नुभएको थियो । चिसो वातावरणमा तातो सुप खाएपछि भने अलिक आराम महसुस भए तापनि ३ जना साथी भने त्यहाँबाट माथि नजाने निर्णय गर्दै सुत्नुभएको थियो ।
तर भोलिपल्ट बिहान भने सबैजना उत्तिकै तन्दुरुस्त भएर कुण्डमा जान तम्सिएपछि भने निकै खुशी भएका थियौँ । केही दृश्य हुन्छन् आँखामा नअटाउने अनि केही दृश्य हुन्छन् व्याख्या गर्न नसकिने । शिर ठाढो पारेर उभिएका पहाडी श्रृङ्खला अनि बेलाबखत झुलुक्क देख्न पाइने हिमाली सौन्दर्य । त्यसले मेरो मनमा विछट्टको भाव सञ्चार गरिरहेको थियो ।चोलाङपाटीबाट माथिको बाटो अझै रोमाञ्चक थियो । मनमनै कल्पना गरेँ, चैत, वैशाखको समय हुँदो हो त पुरै पाखोले लालीगुराँसको पछुयौरा ओढेको देख्न पाइन्थ्यो । गोसाइँकुण्ड पदमार्ग बाट मनास्लु, गणेश हिमाल, लाङटाङ हिमाल लगायतका थुप्रै हिमचुचुराहरू देख्न पाइने रहेछ । ३९१० मिटर उचाइमा रहेको लौरीविनायकमा पुग्दा निकै चिसो महसुस भएको थियो । हामीले चिसो जिउलाई तताउने उद्देश्यले अदुवा राखेको चिया मगायौँ । चियाको सुर्कीसँगै त्यहाँबाट देखिने प्राकृतिक सौन्दर्यलाई आँखामा कैद गर्यौँ । आँखाले देखेका सबै दृश्य क्यामेरामा कैद गर्न कहाँ सम्भव हुन्छ र ! हामीलाई हाम्रो गन्तव्य गोसाइँकुण्डले तानीरहेको थियो । राम्रो वस्तु प्राप्त गर्न केही सङ्घर्ष गर्नैपर्छ, कठिनाइ त भोग्नैपर्छ । अनि पो त्यसको महत्व हुन्छ र प्राप्तीमा पनि आनन्द आउँछ । जति माथि जान्थ्यौँ, उति नै सुन्दर दृश्य त देख्न सकिन्थ्यो तर उचाइ बढ्दै गइरहेकोले हिँड्न पनि गाह्रो हुँदै थियो ।
लौरीविनायकबाट माथि बुद्धको मूर्तिमा पुग्ने वेलासम्म भने नाक ठोक्किने उकालो चढ्नुपर्ने रहेछ । यो उकालो भने सबैको लागि सबैभन्दा कष्टकर उकालो रहेछ । यतिबेला हातमा लिएको निर्जिव लठ्ठी भने हाम्रो यात्राको बलियो सहारा बनेको थियो । त्यही लठ्ठीको सहारामा विस्तारै पाइला चाल्दै थियौँ । हामीसँगै जानुभएको एकजना साथीलाई भने स्वास फेर्न निकै गाह्रो भएपछि यहाँबाट फर्किने निर्णय लिनुभएको थियो तर विस्तारै पाइला पाइलामा बिसाउँदै साथमै लिएर गयौँ । गोसाइँकुण्ड पुग्ने बेलामा भने केही तेर्सोे र ओरालो बाटो पनि हिँड्न पाइने रहेछ । यतिबेला भने केही राहत मिलेको अनुभूति हुँदोरहेछ । गोसाइँकुण्डको छेवैमा रहेका होटल भने वरैबाट देख्न सकिन्थ्यो ।
थाकेको भएर होला, हामीहरु हिँडेर जति नजिक पुग्न खोज्थ्यौँ तिनीहरु त्यति नै पर सरेजस्ता देखिन्थे । गोसाइँकुण्ड पुग्नुभन्दा पहिला बाटोबाट नै देखिने भैरवकुण्ड अनि सरस्वती कुण्डको टाढैबाट दर्शन ग¥यौँ । दिनको १२ बज्न आँटिसकेको थियो । यस कुण्ड रहेको क्षेत्रमा प्रायजसोः दिनको १२ बजेपछि पानी पर्ने कुरा सुनेर मन भने निकै हतारिएको थियो तर हाम्रा गोडाले भने मनलाई पूर्ण रुपमा साथ दिन सकिरहेका थिएनन् । २०८० साल असोज १ गते हरितालिका तीजको दिन परेको थियो । ठिक १२ बजे हाम्रो यात्राको अन्तिम गन्तव्य ४३८० मिटर उचाइमा अवस्थित गोसाइकुण्डमा पुग्यौँ । त्यहाँ पुग्नासाथ कोही साथीहरु पौडी खेल्न, कोही नुहाउन त कोही फोटो खिच्न थाल्नुभयो । मैले भने आँखाले भ्याएसम्म ताललाई राम्रोसँग नियालेँ अनि तालको पानी अँजुलीमा उभाएर हेरे आफूलाई धन्य ठानेँ । मन खुशीले गदगद भएर आयो । शरीरमा निकै ताजापन महसुस भयो । यात्राबाट सार्थकता मिलेको अनुभूति भयो । गोसाइँकुण्डको बिचमा रहेको ढुङ्गालाई महादेव भगवानको मन्दिरकै अवशेष भएको विश्वास गरिँदो रहेछ । जनैपूर्णिमा र दशहराका दिन यहाँ ठूलो मेला लाग्ने रहेछ ।
गोसाइँकुण्ड भन्दा अझै माथि सूर्यकुण्ड रहेछ । केही मानिसहरु सूर्यकुण्डबाट फर्किँदै थिए । त्यस क्षेत्रमा १०८ वटा ताल रहेको जानकारी पाए पनि हामीले भने भैरवकुण्ड, सरस्वतीकुण्ड र गोसाइँकुण्डको मात्र दर्शन गर्न पायौँ । तालको अवलोकनपश्चात केही फोटाहरु खिच्यौँ । अनि ताल नजिकै रहेको मन्दिरको दर्शन गरी नजिकै रहेका होटलमा आयौँ । त्यसपछि भने कुहिरोले ढपक्क ढाक्दै आएर पानी पर्न सुरु गर्यो । राम्रोसँग तालको अवलोकन गर्न पाएकोमा आफूलाई भाग्यमानी ठान्यौँ । केही साथीहरुलाई भने लेक लागेर निकै गाह्रो भइरहेको थियो त्यसैले हामी जतिसक्दो चाँडो तल झर्नु थियो । तातो गार्लिक सुप अनि तातो खाना खाएर त्यहाँबाट हामी निस्कियौँ । तल झर्दै जाँदा सबैको स्वास्थ्य सामान्य हुँदै गइरहेको थियो । हामीसँग समय थोरै भएकोले प्रत्येक पाइला पाइलामा हिसाब राख्नु थियो । धेरै दिन बिदा नभएकोले पर्सीपल्ट आफ्नो कार्यथलोमा हाजिरी हुनु थियो । त्यसैले लाङटाङ राष्टिय निकुञ्जको जङ्गलभित्र हामी बेलुका ८ बजेसम्म हिँडिरह्यौँ । सिमसिम पानी परिरहेको थियो ।
रेनकोट लगाएर टर्चलाइटको सहारामा गरिएको यात्रा त्यतिबेला कष्टकर भए पनि अहिले भने अविष्मरणीय बनेर मस्तिष्कमा रहेको छ । त्यस दिन फर्किएर हामी ३३३० मिटर उचाइमा रहेको चन्दनबारी भन्ने ठाउँमा आयौँ । तीजको दिन भएकोले होटेलमा पुगेर एकैछिन पनि नसुस्ताइकन तीजको गीत बजाएर नाच्न थाल्यौँ । एकछिन रमाइलो गरी खाना खाएर दिनभरिको रमाइलो यात्राको स्मरण गर्दै त्यो रात त्यही बस्यौँ । भोलिपल्ट बिहान चौरी गाईको दुधसँग तिब्बतीयन रोटीको स्वाद लियौँ ।
आँखाले हेरेर नसकिने गोसाइँकुण्डको सौन्दर्य र सम्झनायोग्य अनेक स्मृति बोकेर चौथो दिन हामी चितवनतिर प्रस्थान गर्यौं। छोटो समयलाई पनि राम्रोसँग व्यवस्थापन गरेकोले गोसाइँकुण्डको यात्रा रोमाञ्चक, उपलब्धिमूलक र अविष्मरणीय बन्यो ।
प्रतिक्रिया दिनुहोस्