
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कुनैपनि बैंकले १६ प्रतिशत ब्याज लिएको भए राष्ट्र बैंकमा गुनासो गर्न आग्रह गर्नुभएको छ ।
शुक्रबार नेपाल आर्थिक पत्रकार समाज (सेजन) को २७ औं वार्षिकोत्सवको कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले यस्तो बताउनुभएको हो । उहाँले उद्योगी व्यवसायीहरुले बैंकहरुले नियमविपरित ब्याज लिएको स्टेटमेण्ट लिएर राष्ट्र बैंकमा गुनोसो गरे अनुगमन गरी ब्याज फिर्ता गराउने बताउनुभयो ।
गभर्नर अधिकारीले राष्ट्र बैंकले अघिल्लो वर्षमा लिइएको बढी प्रिमियम बापतको ४ अर्ब ७६ करोड रुपैयाँ व्यवसायीहरुलाई फिर्ता गराएको उल्लेख गर्नुभयो । उहाँले बैंकले बढी ब्याज लिए भनेर बाहिर गुनासो गर्दै हिँड्नुभन्दा राष्ट्र बैंकमा गुनासो गर्न व्यवसायीहरुलाई आग्रह गर्नुभयो । उहाँले व्यवसायीले बैंकले १६÷१८ प्रतिशत ब्याज लियो भन्दै नहिँड्न आग्रह गर्नुभयो ।
गभर्नर अधिकारीले व्यवसायीहरुले बैंकहरुले लिँदै नलिएको १८ प्रतिशत ब्याजको विषयमा बोल्दा बजारलाई अनावश्यक रुपमा अराजकता फैलाउनेहरुका लागि प्रोत्साहन मिल्ने बताउनुभयो । उहाँले ठूला व्यवसायीहरुले बैंकहरुबाट लिएको कर्जाको ६ देखि ८ प्रतिशत भन्दा बढी ब्याज नतिरेको उल्लेख गर्नुभयो । उहाँले बैंकहरुको ब्याजदर १० प्रतिशत हुँदा पनि व्यवसायीहरुले ८ प्रतिशत ब्याजमा ऋण लिइरहेको स्पष्ट पार्नुभयो ।
गभर्नर अधिकारीले उद्योगी व्यवसायीहरुले ऋण लिनुभन्दा पहिला आफ्नो व्यवसाय योजना बनाउने नगरेको बताउनुभयो । उहाँले आफ्नो व्यवसाय नहेरी कर्जा लिँदा व्यवसायीहरुलाई व्यक्तिगत रुपमा समस्या परेको भन्दै उक्त समस्या राज्य र राष्ट्र बैंकमाथि थुपार्नु गलत भएको बताउनुभयो ।
गभर्नर अधिकारीले मुलुकको अर्थतन्त्र संरचनागत हिसावले समस्यामा रहेको बताउनुभयो । उहाँले मुलुकको अर्थतन्त्र रेमिट्यान्समा निर्भर रहेको भन्दै रेमिट्यान्सको निर्भरताका विषयमा सबैले गम्भीर भएर सोच्नुपर्ने बेला भएको बताउनुभयो । उहाँले सरकार र राष्ट्र बैंकका हेरक नीतिहरु आन्तरिक उत्पादनलाई बनाउने विषयमा केन्द्रित रहेको बताउनुभयो ।
गभर्नर अधिकारीले नीति तथा कार्यक्रम बजेट र मौद्रिक नीतिमा आन्तरिक उत्पादनलाई बढाउने स्पष्ट नीतिहरु उल्लेख भएको दाबी गर्नुभयो । उहाँले राष्ट्र बैंकले बजेटलाई असहयोग गरेको भनेर लाग्ने गरेको आरोपमा गभर्नरले असन्तुष्टि व्यक्त गर्नुभयो । उहाँले बजेटमा भएको कुन विषयमा राष्ट्र बैकले सहयोग गरेको छैन ? भन्दै प्रश्न गर्नुभयो । उहाँले अर्थमन्त्रीसँग आफ्नो राम्रो सम्बन्ध रहेको भन्दै रमाइलोका लागि गभर्नर र मन्त्रीको सम्बन्ध बिग्रेको भन्नु गलत भएको उल्लेख गर्नुभयो ।
गभर्नर अधिकारीले आर्थिक शिथिलताका कारण बैंकहरुको खराब कर्जामा समस्या आएको बताउनुभयो । उहाँले राष्ट्र बैंकले बैंकहरुको खराब कर्जा थप नबढोस् भनेर नै नीतिगत रुपमा कडाइ गरेको बताउनुभयो । गभर्नर अधिकारीले खराब कर्जाको असरले कर्जाको गुणस्तर समेत कमजोर बनाइरहेको बताउनुभयो । उहाँले व्यवसायीहरुले ऋण लिँदा आफ्नो क्षमता नहेरेकाले अहिले तिर्नुपर्दा केही समस्या परेको उल्लेख गर्नुभयो । उहाँले दक्षिण एशियामा अन्य देशको हेरेर नेपालका बैंकहरुको खराब कर्जा कम रहेको बताउनुभयो ।
गभर्नर अधिकारीले बैंकको नेट एनपीए १.५ प्रतिशत भन्दा माथि नगएको बताउनुभयो । उहाँले नेपालको बैंकिङ क्षेत्रमा समस्या नभएको बताउनुभयो । उहाँले राष्ट्र बैंकको नीतिको कारण बैंकहरुमा तत्काल समस्या आउने अवस्था नभएको बताउनुभयो । उहाँले वाह्य क्षेत्र इतिहासकै धेरै बलियो अवस्थामा रहेको भन्दै १०.३ महिनाको वस्तु र सेवा आयात गर्नसक्ने क्षमता रहेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्