
काठमाडौं । ‘नवौं नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला’मा करिब साढे दुई करोडको कारोबार भएको छ ।
नेपाल उद्योग वाणिज्य महासंघकाअनुसार सोमबार सम्पन्न ५ दिने मेलामा करिव साढे दुई करोडको कारोबार र करिब २५ हजार अवलोकनकर्ता सहभागी भएका हुन् ।
ग्राहकलाई लक्षित गरेर नेपाल, बंगलादेश र पाकिस्तानले मात्रै स्टल राखेकाले अपेक्षाअनुसारको कारोबार नभएको महासंघका सहायक निर्देशक परशुराम नेपालले बताउनु भयो ।
नेपालमा उत्पादित निर्यातयोग्य वस्तुहरुको बजारीकरण गर्नका लागि सो मेला आयोजना गरिएको थियो । बजार प्रवद्र्धनको हिसावले भने मेला फलदायी रहेको महासंघको निष्कर्ष छ । मेलामा नेपाली हस्तकलाका सामाग्री, बंगलादेशको कपडा र पाकिस्तानको लेदरब्याग, पर्स, जाकेटलगायतका सामग्रीहरुमा ग्राहकहरुले चासो दिएका थिए ।
प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले गत मंसिर १४ गते उद्घाटन गर्नुभएको सो अन्तर्राष्ट्रिय मेलामा नेपाल, भारत, चीन, बंगलादेश, पाकिस्तानसहित करिब २ सय वटा स्टल राखिएको थियो ।
नेपाल उद्योग वाणिज्य महासंघको नेतृत्वमा हरेक वर्ष नेपालमा अन्तर्राष्ट्रिय स्तरको मेला हुने गरेको छ ।
प्रतिक्रिया दिनुहोस्