
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किराँतीले नेपालको धार्मिक र सांस्कृतिक सहिष्णुतामाथि आँखा नलगाउन चेतावनी दिनुभएको छ ।
पछिल्लो समय नेपालको धार्मिक र सांस्कृतिक सहिष्णुतामा खलल पुर्याउने विभिन्न गतिविधि बढेको उल्लेख गर्दै मन्त्री किराँतीले त्यस्तो गतिविधि स्वीकार्य नहुने बताउनुभयो । इलामको माङसेबुङस्थित किरात धर्मगुरु आत्मानन्द लिङ्देनको ७०औँ जन्मोत्सवको उद्घाटन गर्दै मन्त्री किराँतीले धर्मनिरपेक्षताको विकल्प सोच्नै नसकिने बताउनुभयो ।
मन्त्री किराँतीले हजारौँको बलिदानीबाट प्राप्त लोकतान्त्रिक गणतन्त्रको विकल्प नखोज्न आग्रह गर्नुभयो । पहिलो पटक शाकाहारी गाउँ माङसेबुङ आउनुभएका मन्त्री किराँतीले नेपाली माटो अनुसारको पर्यटन विकासमा जोड दिनुभयो ।
आत्मानन्द लिङ्देन बसेपछि माङसेबुङ क्षेत्र धार्मिक पर्यटकीयस्थलको रुपमा विकास हुँदै गएको उल्लेख गर्दै उहाँले माङसेबुङ क्षेत्रलाई गौतमबुद्धको जन्मस्थल लुम्बिनी जस्तै सांस्कृतिक पर्यटकीय क्षेत्र बनाउन सकिने सम्भावना रहेको बताउनुभयो ।
माङसेबुङवासीले पेश गरेको मागपत्रलाई सम्बोधन गर्दै मन्त्री किरातीले माङसेबुङ क्षेत्रलाई सांस्कृतिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न सरकारका तर्फबाट पहल गर्ने प्रतिबद्धता जनाउनुभयो ।
प्रतिक्रिया दिनुहोस्