२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


कालीगण्डकी करिडोरअन्तर्गत पाल्पास्थित सडक अलपत्र


234
Shares

पाल्पा । राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरको पिपलडाँडा–गैडाकोट खण्डको पाल्पास्थित अर्सेदी, हुँगी र रामपुर क्षेत्रमा कालोपत्रे गरेको एक वर्षमै सडक धाँजा फाटेर चिराचिरा परेको छ ।

गत वर्ष मात्रै कालोपत्र सम्पन्न भएको सडकमा हलुका सवारी चल्न सुरु गरेको ९ महिनामै सडक ठाउँठाउँमा फुटेको हो । कालोपत्रे सडक ठाउँठाउँमा उप्किनुका साथै फुटेर भासिने जोखिम बढेको छ ।

सडक निर्माणकै क्रममा गुणस्तरहीन भयो भन्दै पटपटक स्थानीयले गुनासो गरे पनि निर्माण कम्पनी, सडक आयोजना, कालीगण्डकी करिडोर गैंडाकोट राम्दी मालढुंगा सडक योजनाले चासो नदिएको उनीहरुको भनाइ छ ।

राष्ट्रिय प्राथमिकताको आयोजना भएपनि सरकारी अनुगमन र निरिक्षण कम हुँदा निर्माणमा ठेकेदारले लापरबाही गरेका हुन् । सडक आयनेजनाको काम गुणस्तरहीन भएको रम्भा गाउँपालिका अध्यक्ष विष्णु प्रसाद भण्डारीले बताउनुभयो ।

यता निर्माणधीन आयोजनाको सुपरिवेक्षणको मुख्य जिम्मेवारी पाएको कालीगण्डकी करिडोर गैंडाकोट राम्दी मालढुंगा सडक योजना कार्यालय पाल्पाले भने काममा त्रुटी देखिएकोले सुधारका लागि ठेकेदार पक्षसँग छलफल भइरहेको जनाएको छ ।