
राजेश जिसी,
प्यूठान । पानी पर्न थालेसँगै जाजरकोट र रुकुमपश्चिमका भूकम्प पीडितको कन्तबिजोग भएको छ । कठ्याङ्ग्रीदो जाडोमा गाँस, बास र कपासको समस्या हुँदा आर. आर. एनले पु¥याएको राहत पाउँदा भूकम्पपीडित खुशी भएका छन् ।
रुकुमपश्चिम आठवीसकोट– १४ की लालमती चन्दका श्रीमान शारीरिक रुपमा अपांग हुनुुहुन्छ । दुई छोरा छुट्टिएर अलग हुनुहुन्छ । भुकम्प गएको एक महिना पछि राहत लिन पाइन्छ भन्ने थाहा पाएपछि उहाँ राहत लिन जानु भयो । घर भत्किएपछि खुल्ला आकाशमा बसेको उहाँको परिवार हम्मे हम्मे गरी अहिले त्रिपालमा पुगेको छ । सरकारी संयन्त्रले राहत वितरणमा ग्रामीण क्षेत्रलाई प्राथमिकता नदिँदा चन्द जस्तै थुप्रैको हातमा बल्ल तल्ल एक महिनापछि न्यानो कपडा हातमा परेको छ ।
भूकम्पपीडितले भत्किएका घरको पुननिर्माणको माग गरेको धेरै भयो । भूकम्पका कारण घर भत्किएपछि घरवासविहीन नागरिकले पुननिर्माणको काम छिटोछरितो गर्न माग गरेका हुन् । पीडितहरूले त्रिपालमुनिको चिसोबाट बचाउन पुनर्निर्माणलाई तत्काल अघि बढाउन आग्रह गरेका छन् । त्रिपालले जाडो नछेक्ने तथा खुला आकाशमुनि खाना पकाउने गरेका पीडितले अस्थायी टहरा निर्माणको प्याकेज ल्याएर आउन आग्रह गरेका हुन् ।
भूकम्प प्रभावित क्षेत्रका नागरिकका लागि अस्थायी टहरा निर्माण गर्ने प्रतिबद्धता गरेको सरकारले पूरा गर्न नसकेपछि उनीहरू समस्यामा परेका छन् । चिसोबाट बालबालिका, गर्भवती, सुत्केरी र जेष्ठ नागरिकलाई बढी समस्या भभएको छ ।
कर्णाली सहायता मानवीय परियोजना नेपाल ग्रामीण पुनर्निर्माण संस्था, (आरआरएन) ले रुकुमपश्चिम र जाजरकोटका भूकम्प प्रभावितलाई राहत सामग्री वितरण गर्दा पीडितहरु खुशी भएका छन् । सरकारी राहत वितरण प्रभावकारी हुन नसक्दा र पहुँचवालाले मात्र पाउँदा छुटफूट भएका धेरै छन् । परियोजनाले तत्काल न्यानो कपडा, खाद्यान्न र अस्थायी संरचना निर्माणका लागि जस्ता पातासमेत वितरण गरेको हो ।
चिसो बढ्दै गएपछि उच्च पहाडी क्षेत्रका पीडितको स्वास्थ्यमा समस्या देखिन थालेको छ । भुकम्प गएको एक महिना वित्दा समेत सरकारले अस्थायी टहरा निर्माणका लागि ५० हजार रुपियाँ दिने घोषणा गरे पनि पीडितले पाउन सकेका छैनन् । चिसो बढ्दै गएको र राहत वितरणमा व्यवस्थापन फितलो भएको हुँदा विभिन्न संघसंस्थाको सक्रियता पनि आवश्यक देखिन्छ ।
प्रतिक्रिया दिनुहोस्