१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


बैंक तथा वितीय संस्थाहरूको निक्षेप चालु आर्थिक वर्षमा १४.९ प्रतिशतले वृद्धि : गभर्नर अधिकारी


845
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंक तथा वितीय संस्थाहरूको निक्षेप चालु आर्थिक वर्षमा १४.९ प्रतिशतले बढेको बताउनुभएको छ ।

बुधबार प्रतिनिधि सभा अन्तर्गतको अर्थ समिति बैठकमा बोल्दै गभर्नर अधिकारीले यस्तो बताउनुभएको हो । उहाँले बैंक तथा वित्तीय क्षेत्रतर्फ गत वर्ष २०७९ असोजमा ५.३ प्रतिशतले बढेको विस्तृत मुद्राप्रदाय २०८० असोजमा १४ प्रतिशतले बढेको बताउनुभयो ।

गभर्नर अधिकारीले बैंक तथा वितीय संस्थाहरूको निक्षेप गत वर्ष ८.२ प्रतिशतले बढेकोमा चालु वर्ष १४.९ प्रतिशतले बढेको पनि बताउनुभयो । उहाँले बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाह भएको कर्जा अघिल्लो आर्थिक वर्षको तीन महिनाको तुलनामा १०९ अर्ब रुपैयाँले बढेको बताउनुभयो ।

गभर्नर अधिकारीले तरलतामा आएको सुधार र ब्याजदर घट्दै गएकोले कर्जा प्रवाह थप बढ्ने आँकलन राष्ट्र बैंकको रहेको बताउनुभयो । उहाँले मौद्रिक नीतिको लचकताको कारण बैंकको ब्याजदर निरन्तर रुपमा घटिरहेको बताउनुभयो । उहाँले गत वर्ष टेजरी बिलको भारित ब्याजदर १०.१४ प्रतिशत रहेकोमा २०८० असोजमा ४.९४ प्रतिशत रहेको बताउनुभयो ।

गभर्नर अधिकारीले ९१ दिने टेजरी विलको भारित औसत ब्याजदर थप घटेर २.६२ प्रतिशत रहेको बताउनुभयो । उहाँले गत वर्षको तुलनामा अल्पकालिन ब्याजदरहरु घट्दै गएको बताउनुभयो । उहाँले बैंकहरुको अन्तर ब्याजदर पनि असोजमा २.२६ प्रतिशत रहेको ब्याजदर थप घटेर १ प्रतिशतको हाराहारीमा रहेको बताउनुभयो ।

गभर्नर अधिकारीले बैंकहरुको बेस रेट घटेर ९.९४ प्रतिशत भएर एकल अंकमा आएको भन्दै कर्जाको व्याजदर पनि गत वर्ष माघमा १३ प्रतिशत रहेकोमा अहिले घटेर १२.१ प्रतिशतमा झरेको बताउनुभयो । उहाँले बैंकहरुको निक्षेपको ब्याजदर घटाउँदै ल्याएकाले कर्जाको ब्याजदर पनि थप घट्ने क्रममा रहेको बताउनुभयो ।

गभर्नर अधिकारीले चालु आर्थिक वर्षमा ४ देखि ५ प्रतिशतको आर्थिक वृद्धि हुने आँकलन गरेको बताउनुभयो । उहाँले चालु आर्थिक वर्षमा पर्यटक आगमन र विप्रेषण आप्रवाह उल्लेख्य रूपमा बढेको, ब्याजदर घटिरहेको र कर्जा प्रवाह बढ्न शुरू भएकोले ४ देखि ५ प्रतिशत आर्थिक वृद्धि हुने बताउनुभयो । उहाँले उपभोक्ता मूल्यवृद्धिमा सुधार आउने अपेक्षा गरिएको बताउनुभयो ।

गभर्नर अधिकारीले देशको आर्थिक स्थितितर्फ आर्थिक वर्ष २०७९÷०८० असोजको मूल्यवृद्धि ७.५ प्रतिशत रहेको बताउनुभयो । उहाँले वाह्य क्षेत्र थप सुदृढ हुँदै गएको पनि बताउनुभयो । उहाँले लामो समयसम्म घटिरहेको आयात २०८० असोज मसान्तसम्म १.७ प्रतिशतले बढेकोमा कार्तिकमा आएर पुनः ३.८ प्रतिशतले र व्यापार घाटा पनि ३.३ प्रतिशतले घटेको बताउनुभयो ।

गभर्नर अधिकारीले २०८० असोजसम्म विप्रेषण आप्रवाह ३० प्रतिशतले बढेका कारण चालु खाता ५९ अर्ब रुपैयाँले वचतमा रहेको बताउनुभयो । उहाँले पर्यटक आगमन सन् २०२२ को १० महिनाको तुलनामा ७१ प्रतिशतले बढेको बताउनुभयो । उहाँले वैदेशिक रोजगारीको लागि जाने व्यक्तिहरू अघिल्लो दुई आर्थिक वर्षमा बढेकोमा चालु आर्थिक वर्षको तीन महिनासम्ममा २१ प्रतिशतले घटेको उल्लेख गर्नुभयो ।

गभर्नर अधिकारीले राष्ट्र बैंकले वाह्य क्षेत्रको स्थायीत्व,बैंक तथा वित्तीय क्षेत्रमा स्थिरता कायम गर्ने र बजार मूल्य स्थिर राख्ने काममा होसियार पूर्वक काम गरिरहेको बताउनुभयो । उहाँले यी तीन विषयमा स्थायित्व दिनेसके मात्रै समग्र अर्थतन्त्रमा स्थायित्व कामय हुने बताउनुभयो । उहाँले अर्थतन्त्रका यी तीनवटा विषयमा राम्रो अवस्था रहेको बताउनुभयो ।

गभर्नर अधिकारीले अर्थतन्त्रमा देखिएका समस्याको सबै जड गभर्नर हो भन्ने पनि आफूले अर्थतन्त्रमा समस्या हुने काम केही नगरेको बताउनुभयो । उहाँले निर्माण उद्योगमा आएको समस्याका कारण उद्योग व्यवसाय पूर्ण रुपमा सञ्चालन गर्न नसक्दा कर्जाको मागमा कमी रहेको बताउनुभयो । उहाँले बैंकहरुमा कर्जाको माग कमी हुनुमा दुर्गा प्रसाईले २० लाखसम्मको ऋण मिनाह गराई दिने तिर्नुपर्दैन भन्ने आन्दोलनको कारण पनि कर्जा प्रवाहमा बैंकहरु हच्केको बताउनुभयो ।

त्यस्तै, नेपाल राष्ट्र बैंकको अनुसन्धान विभागका कार्यकारी निर्देशक डा. प्रकाशकुमार श्रेष्ठले ब्याजदर एकल अंकमा ल्याउँदा टिकाउन नसकिने बताउनुभयो । उहाँले ब्याजदर एकल अंकमा आउनासाथ आयात बढ्ने र यसले सञ्चितिमा दवाव पर्ने दाबी गर्नुभयो । उहाँले व्याजदर एकल अंकमा आउनासाथ अर्कोतर्फ घरजग्गालगायत सम्पतिको मूल्य बढ्ने र यसले अर्थतन्त्रमा नकारात्मक असर पार्ने पनि बताउनुभयो ।

गभर्नर अधिकारीले नेपाल आन्तरिक उत्पादन कमजोर रहेकाले एकल अंकमा व्याजदर ल्याउँदा फाइदा नहुने बताउनुभयो । उहाँले डिपार्टमेण्ट स्टोरलगायतका ठूला व्यवसायहरू, सञ्चालनमा रहेका खुद्रा व्यवसायहरू समस्या रहेको बताउनुभयो ।