१ चैत्र २०८१, शुक्रबार | Fri Mar 14 2025


एनसेल शेयर खरिद बिक्री कार्य रोक्न सार्वजनिक लेखा समितिको निर्देशन


65
Shares

काठमाडौं । प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिले एनसेलको शेयर खरिद बिक्री कारोबार सम्बन्धी कार्यलाई रोक्न सरकारलाई निर्देशन दिएको छ ।

बुधबार बसेको समितिको बैठकले एनसेलको शेयर खरिद बिक्री सम्बन्धी कारोबार संशयपूर्ण, अपारदर्शी र अवास्तविक रहेको ठहर गर्दै यसको खरिद बिक्री सम्बन्धि कारोबार विस्तृत रुपमा अनुसन्धान गरी निष्कर्षमा नपुगुन्जेलसम्मका लागि रोक्न सरकारलाई निर्देशन दिएको हो ।

त्यस्तै, वास्तविकता पत्ता लगाउनका लागि ३० दिनभित्र कार्य सम्पादन गर्नेगरी तत्काल स्वतन्त्र अनुसन्धान गर्न, गराउन पनि निर्देशन दिएको छ । त्यस्तै, एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा भएका कामहरुको विस्तृत विवरण र नेपालमा प्रत्यक्ष वैदेशिक लगानी जोखिमयुक्त रहेको भन्ने भनाई सम्बन्धमा सरकारको धारणा ४८ घण्टाभित्र सार्वजनिक गर्न पनि निर्देशन गरिएको छ ।

बैठकले यस प्रकारका विषयहरु सँग सम्बन्धित कानूनी व्यवस्थाहरुमा रहेका छिद्रहरुको उपयोग गरी हुनसक्ने चलखेल रोक्न तथा लगानीकर्ताहरुको सुरक्षा र देशले पाउने लाभ सुनिश्चित हुने गरि र आगामी दिनमा दुविधा नहुने गरी स्पष्ट खाका सहित दूरसञ्चार सम्बन्धी कानूनहरुलाई संशोधन गर्नुपर्ने देखिएको निष्कर्ष निकालेको छ । संसदको आगामी अधिवेशनको प्रारम्भ सम्ममा संशोधन विधेयक संघीय संसदमा दर्ता गराउन समितिले निर्देशन दिएको छ ।

समितिले एनसेल शेयर खरिद बिक्रीबारे थप धारणा लिन र समसामयिक विषय बुझ्नका लागि आगामी कुनै बैठकमा प्रधानमन्त्रीलाई बोलाउने निर्णय पनि गरेको छ ।