१ चैत्र २०८१, शुक्रबार | Fri Mar 14 2025


एनसेल खरिदबिक्री प्रकरणमा सरकारबाट समिति बनाएर अध्ययन गर्नेकुरा नाटक : सभापति लामिछाने


455
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले एनसेल खरिदबिक्री प्रकरणमा सरकारबाट समिति बनाएर अध्ययन गर्नेकुरा बेकारको नाटक भएको आरोप लगाउनुभएको छ ।

बुधबार पार्टी केन्द्रिय कार्यालय बालाजुमा बसेको सचिवालय बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै सभापति लामिछानेले यस्तो बताउनुभएको हो । उहाँले एनसेलमा गैरकानूनी काम भएको भए तत्काल कारबाही गर्नुपर्ने बताउनुभयो । उहाँले एनसेल प्रकरणमा कयौँ राजनीतिक दलहरुको संलग्नता हुने आशंका व्यक्त गर्नुभयो ।

सभापति लामिछानेले एनसेलले कर नतिरेको भए तत्काल कारबाही गर्नुपर्ने बताउनुभयो । उहाँले गैरकानूनी हो भने सत्ता गठबन्धन, सर्वदलीय बैठक बस्ने नभइ कर छल्ने मानिसलाई पक्राउ गर्नुपर्ने बताउनुभयो । उहाँले कर छली लगायतका विभिन्न गैरकानूनी काममा वृहत अनुसन्धान गर्नुपर्ने पनि बताउनुभयो । उहाँले एनसेल खरिदबिक्री प्रकरणबारे अर्थमन्त्री डा. प्रकाशशरण महतले दिनुभएको अभिव्यक्ति प्रतिक्रिया दिन लायक नभएको बताउनुभयो ।

रास्वपाको सचिवालय बैठकले प्रवास नेपाली सम्पर्क विभागको कार्यविधि पास गरेको छ । रास्वपाले नयाँ चयन भएका केन्द्रिय सदस्यहरुलाई आज शपथग्रहणसमेत गराएको छ ।