१ चैत्र २०८१, शुक्रबार | Fri Mar 14 2025


एनसेल सेयर खरिद बिक्री विवादबारे समितिले काम थाल्दै


52
Shares

काठमाडौं । एनसेलको सेयर खरिद बिक्री विवादबारे छानबिन गर्ने कार्य आजैदेखि शुरु हुने भएको छ ।

सरकारले छानबिन गर्न गठन गरेको समितिका संयोजक टंकमणि शर्माले छानबिनको काम अघि बढी सकेको बताउनुभएको छ ।

संयोजक शर्माले सरकारले दिएको निर्धारित समयभित्र काम सम्पन्न गर्न समितिले तीव्र गतिमा काम शुरु गरेको बताउनुभयो । साथै उहाँले सरकारले गम्भीर विषयमा छानबिनका लागि जिम्मेवारी सुम्पेकाले जिम्मेवारीलाई समयभित्रै पुरा गर्ने बताउनुभयो ।

छानबिन समितिको कार्यालय व्यवस्थापन गर्ने लगायतका काम भइसकेको र सरकार तथा समितिसंग सहकार्य गरेर निष्पक्ष ढङ्गले छानबिन प्रक्रिया पूरा गर्ने संयोजक शर्माले प्रतिवद्धता जनाउनु भयो । समितिलाई एनसेलको सेयर खरिद बिक्री विवादबारे अध्ययन गरी एक महिनाभित्र प्रतिवेदन बुझाउन बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले समय दिएको छ ।

पूर्व महालेखा परीक्षक शर्माको संयोजकत्वमा नेपाल सरकारका सचिव फणीन्द्र गौतम, सहसचिव बाबुराम भण्डारी, सहसचिव हृदयेशकुमार शाक्य, आइक्यानका अध्यक्ष सुजनकुमार काफ्ले सदस्य रहेका छन् ।