
काठमाडौं । बाला चतुर्दशीमा पशुपतिनाथ मन्दिर परिसरमा शतबीज छर्न आउनेहरुलाई भक्तजनहरुलाई नियम पालना गर्न पशुपति क्षेत्र विकास कोषले आग्रह गरेको छ ।
बिहीबार बिज्ञप्ति जारी गर्दे कोषले भक्तजनले १३ बुँदे नियम पालना गर्नुपर्ने जनाएको छ । कोषमा वृक्षारोपण गरिएको बिरुवाको संरक्षण गर्न, ढुंगा छापेको स्थानमा शतबीज नछर्न, साना बालबालिकाहरुसँग परिचयपत्र राखिदिन कोषले आग्रह गरेको हो ।
आगामी मंसिर २५ गते बालाचतुर्दशी पर्व परेको छ । आफ्ना पितृको स्मृतिमा अघिल्लो दिन रातभर बत्ती बालेर जाग्राम बस्ने र भोलिपल्ट बिहानै शतबीज छर्ने गरिन्छ । पितृको स्मृतिमा बत्ती बाल्ने भक्तजन तीर्थयात्रुहरुका लागि पशुपति क्षेत्र विकास कोषले निःशुल्क पालको व्यवस्था गरेको छ ।
आफैं गएर बत्ती बाल्न नसक्नेहरुका लागि कोषमा २ हजार १ सय रुपैयाँ शुल्क बुझाएर बत्ती बालिदिने व्यवस्था समेत मिलाइएको छ । त्यस्ता भक्तजनहरुले पशुपति मन्दिरको पश्चिमतर्फको बाहिरी ढोकास्थित पशुपति क्षेत्र विकास कोषको बिक्री कक्षमा सम्पर्क राख्नुपर्नेछ ।
कैलाश चौरमा पाल राखेर बत्ती बाल्न पाइने छैन भने शतबीज छर्न पाइने कोषले जनाएको छ । बत्ती बाल्नका लागि कैलाशको फेदी, पशुपतिनाथ मन्दिर परिसर, पशुपति कोर क्षेत्र, हंशमण्डप, चउरसहित बागमती नदीको खाली किनारामा व्यवस्था गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्