
इलाम । इलामको माथिल्लो क्षेत्र सन्दकपुर आसपासमा हिमपात भएको छ । भारतसँग सीमा जोडिएको सन्दकपुर गाउँपालिकाको जौबारी, कालपोखरीलगायतका क्षेत्रमा हिमपात भएको स्थानीय लाक्पा शेर्पाले जानकारी दिनुभयो ।
हिउँ परेर चिसो बढेसँगै यस क्षेत्रको जनजीवन प्रभावित बनेको छ । बिहानैदेखि हिउँ पर्न सुरु भएको हो । सन्दकपुर जिल्लाकै अग्लो स्थान हो । यसको उचाइ तीन हजार छ सय ३६ मिटर रहेको छ ।
वृद्धवृद्धा तथा बालबालिकाहरुलाई समस्या भए पनि युवाहरू हिउँमा रमाउने गरेका छन् । हिउँ परेपछि जिल्लाका अन्य क्षेत्रबाट समेत हिउँ खेल्न पर्यटकहरु जान थालेका छन् । हिउँ परेपछि पर्यटक बढ्ने गरेको स्थानीय बताउँछन् ।
सुक्खा रहेको जमिन हिउँले लामो समयसम्म चिस्यान गराउने किसानहरुको विश्वास छ । गएको वर्ष बाक्लो हिउँ नपरेको तर यसवर्षको सुरुदेखि नै हिउँ पर्न थालेको स्थानीयले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्