
काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कांग्रेसलाई जनतासँग जोड्न सकेमात्र परिवर्तन हुने बताउनुभएको छ ।
चितवन–काठमाडौं प्रजातान्त्रिक सङ्गमको ३३औं वार्षिक साधारणसभा तथा १२औं अधिवेशनको शनिबार उद्घाटन गर्दै उहाँले पार्टीलाई परिवर्तन गर्दै बलियो बनाउनका लागि जनतामाझ जानुपर्ने बताउनुभयो । उहाँले नेपालको प्रजातान्त्रिक आन्दोलनमा चितवनको महत्त्वपूर्ण भूमिका रहेको बताउनुभयो ।
यहाँका क्षेत्र, पालिका, वडामात्र नभई टोलमा समेत व्यक्तिवादी चरित्र हाबी हुँदा पार्टी सङ्गठन कमजोर हुँदै गएको नेता कोइरालाले बताउनुभयो । उहाँले कोइरालाले कांग्रेस एक्लै चुनाव लडेत्रमात्र बलियो पार्टी बन्ने बताउनुभयो ।
नेता कोइरालाले देशको आर्थिकस्थिति विदेशीसँग ऋण लिएर कर्मचारीलाई तलब खुवाउने अवस्थामा पुगेको भन्दै चिन्ता व्यक्त गर्नुभयो ।
उहाँले स्वदेशमा अध्ययन र काम गर्ने वातावरण नभएकाले गत वर्षमात्र प्लस टु पढेर एक लाख २७ हजार विद्यार्थी विदेश गएका भन्दै उक्त युवाशक्तिलाई स्वदेशमा रोक्नका लागि सरकारले ठोस कार्यक्रम अगाडि सार्नुपर्ने बताउनुभयो । कुनै पनि देशलाई समृद्ध बनाउन कृषि उत्पादन बढाउन जरुरी रहेको कोइरालाले बताउनुभयो ।
देशका ठूला भ्रष्टाचारमा राजनीतिक नेता, कर्मचारी र व्यापारी जोडिएको भन्दै भ्रष्टाचार अन्त्य नगरेसम्म देशको विकास नहुने उहाँले बताउनुभयो । महाधिवेशन भएको दुई वर्ष बित्न लाग्दासम्म पार्टीको भ्रातृ संस्था तथा विभागलाई पूर्णता दिन नसक्नु पार्टी नेतृत्वको कमजोरी भएको नेता कोइरालाले बताउनुभयो ।
चितवन–काठमाडौं प्रजातान्त्रिक सङ्गमका पूर्वअध्यक्ष विष्णु पौडेलले चितवनबाट काठमाडौं आएर बसेका प्रजातन्त्रवादीहरू सङ्गठित हुनका लागि उक्त सङ्गम स्थापना गरिएको बताउनुभयो ।
संघमा अध्यक्ष हेमराज लामिछानेले पछिल्लो समय मुलुकको प्रजातान्त्रिक आन्दोलन कमजोर बन्दै गएको भन्दै यसलाई थप सशक्त बनाउनका लागि सङ्गमले भूमिका खेल्दै आएको बताउनुभयो । कार्यक्रममा नेपाल लघुवित्त बैंकर्स सङ्घका निवर्तमान अध्यक्ष बसन्तराज लम्सालले वैदेशिक रोजगारी, विप्रेषण र स्वरोजगारी उद्यमशीलता विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्