
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्र बैंकले मौद्रिक नीतिको समिक्षामार्फत नीतिगत लचकता अपनाए पनि मुलुकको अर्थतन्त्रमा दवाव कायम रहेको दाबी गर्नुभएको छ ।
सोमबार पार्टी केन्द्रिय कार्यालय पेरिस डाँडामा प्रेस सेन्टर नेपालका पदाधिकारीको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले यस्तो बताउनुभएको हो ।
प्रधानमन्त्री दाहालले नेमपालको अर्थतन्त्र निकै ठूलो दवावमा रहेको भन्दै सरकारले लगातार रुपमा सुधारको प्रयास गरिरहेको बताउनुभयो । उहाँले सुधारको प्रयासकै क्रममा राष्ट्र बैंकबाट मौद्रिक नीतिको समिक्षामार्फत भएका नीतिगत र व्यहारिक निर्णयले अर्थतन्त्रमा सहजिकरण गर्ने भएपनि अर्थतन्त्र अझै दबाबमा रहेको दाबी गर्नुभयो ।
प्रधानमन्त्री दाहालले सरकारले राजनीतिक दलका नेता,निजी क्षेत्र र अर्थतन्त्रका विज्ञहरुसँग छलफल गरेर अर्थतन्त्र सुधारको लागि दिएको निर्देशनको आधारमा राष्ट्र बैंकले बैंकको ब्याजदर घटाउने, लघुवित्तका ऋणहरु र व्यवसायीहरुको ऋण फिर्ता गर्ने समय अवधी थप गरेको दाबी गर्नुभयो । उहाँले सरकारले निजी क्षेत्रको माग अनुसार नीतिगत सुधार गरेको भन्दै निजी क्षेत्र सुखी भएको उल्लेख गर्नुभयो ।
प्रधानमन्त्री दाहालले राष्ट्र बैंकले नीतिगत रुपमा गरेको सुधारबाट निजी क्षेत्रले सकारात्मक भएपनि देशको अर्थतन्त्र माथिको दवाव कायमै रहेको जिकिर गर्नुभयो । उहाँले अर्थतन्त्रको तथ्याङ्कहरु हेर्दा सुधार भएको देखिएपनि वास्तविकतामा अर्थतन्त्रमा दवाव अझै रहेको बताउनुभयो ।
प्रधानमन्त्री दाहालले रेमिट्यान्स,राजश्व, विदेशी मुद्राको सञ्चिती वृद्धि र पर्यटन आगमन बढे पनि अर्थतन्त्रको वास्तविक रुपमा हेर्दा जनतामा उत्साह र आशा जाग्न समेत नसकेको बताउनुभयो ।
प्रधानमन्त्री दाहालले अर्थतन्त्र सुधारको लागि सरकारले आगामी नीति तथा कार्यक्रम र बजेट मार्फत संरचनागत सुधार गर्ने तयारी गरिरहेको बताउनुभयो । उहाँले अर्थतन्त्र सुधारको लागि ठूलो रिफर्मको आवश्यकता रहेको भन्दै सरकार त्यो काम गर्ने तयारीमा रहेको पनि बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्