
काठमाडौं । यही मंसिर २८ गतेदेखि पुस २ गतेसम्म २० औं हस्तकला व्यापार मेला हुने भएको छ ।
नेपाल हस्तकला महासंघको आयोजनामा काठमाडौंको अन्नपूर्ण होटेलमा २० औं हस्तकला व्यापार मेला आयोजना हुने भएको हो ।
सोमबार महासंघले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै महासंघले अन्तर्राष्ट्रिय बजारको माग र अवस्थाकाबारेमा उद्यमी व्यवसायीहरूमा जानकारी आदान प्रदान गर्नु मेलाको मुख्य उद्देश्यले मेलाको आयोजना गर्न लागेको बताएको छ ।
महासंघका अध्यक्ष प्रचण्ड शाक्यले हस्तकला व्यापार मेलासँगै १८ औं हस्तकला प्रतियोगिता आयोजना समेत आयोजना गरिने बताउनुभयो । उहाँले मेलाको मुख्य उद्देश्य निर्यातयोग्य वस्तु उत्पादन गर्न उद्यमीहरूलाई प्रोत्साहित गर्ने र अन्तर्राष्ट्रिय बजारका आयातकर्ताहरूको चाहनाअनुरूप वस्तु डिजाइन गर्ने रहेको बताउनुभयो ।
अध्यक्ष शाक्यले मेलामा स्वदेशी र विदेशी क्रेता तथा विक्रेताबीच एक आपसमा सीप, प्रविधि, डिजाइन र ज्ञानको आदान प्रदान हुने समेत बताउनुभयो । उहाँले मेलामा महासंघको १ करोड बढी खर्च हुने बताउनुभयो । उहाँले अहिलको अवस्थामा मेला आयोजना गर्न चुनौति रहेको बताउनुभयो ।
मेलाको उद्घाटन राष्ट्रपति रामचन्द्र पौडलबाट गर्ने कार्यक्रम रहेको छ । मेला अवलोकनका लागि नेपाल सरकारका मन्त्री, उच्च पदस्थ अधिकृतहरू, नेपालस्थित विभिन्न मुलुकका कुटनैतिक नियोगका राजदुतहरूको समेत उपस्थित रहने बताइएको छ ।
मेलामा हस्तकलाका वस्तुहरूको करिब १३० वटा स्टलहरू रहने छन् । मेलामा पाकिस्थान,बंगलादेशका व्यवसायीहरुको समेत स्टल रहने छ । त्यस्तै, हस्तकला प्रतियोगितामा प्रथमलाई ५० हजार नगदसहित प्रमाणपत्र, द्वितीयलाई ३० हजार र तृतियलाई २० हजार रुपैयाँ नगद पुरस्कार रहेको छ ।
प्रतिक्रिया दिनुहोस्