
काठमाडौं । अर्थतन्त्री डा. प्रकाशशरण महतले सरकारको राजस्वको संकलन र पुँजीगत खर्चमा सुधार हुँदै गएको दाबी गर्नुभएको छ ।
अर्थ मन्त्रालयमा बुधबार पत्रकार सम्मेलन गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले यस्तो दाबी गर्नुभएको हो । उहाँले गत वर्ष भएको भन्दा राजश्व संकलन १३ प्रतिशत र पुँजीगत खर्च ६ प्रतिशतले वृद्धि भएको तथ्याङ्क नै प्रस्तुत गर्नुभयो ।
अर्थमन्त्री महतले मूल्य अभिवृद्धिकर ७.१९ प्रतिशतले वृद्धि भएको भन्दै आयकरतर्फ करिब १२ प्रतिशत र समग्र कर राजश्वतर्फ ७.५७ प्रतिशत वृद्धिदर कायम रहेको उल्लेख गर्नुभयो । उहाँले राजस्व संकलन र पुँजीगत खर्च सरकारले अपेक्षा गरेको भन्दा कम भएपनि बिस्तारै सुधारउन्मुख हुँदै गएको स्वीकार गर्नुभयो ।
अर्थमन्त्री महतले मौद्रिक नीतिमार्फत बैंकको ब्याजदर घटाउनको लागि नीतिगत दर ६.५ प्रतिशतबाट घटाएर ५.५ प्रतिशत, बैंक दरलाई ७.५ प्रतिशतबाट ७ प्रतिशत र निक्षेप संकलनको बोलकबोल दर ४.५ प्रतिशतबाट ३.० प्रतिशत कामय गरिएको उल्लेख गर्नुभयो । उहाँले हाल अन्तर बैंक दर २.५ प्रतिशतको हाराहारीमा रहेको बताउनु भयो । २०७९ चैत्र महिनामा बाणिज्य बैंकहरुको औषत आधार दर १०.४८ प्रतिशत रहेकोमा २०८० असोज मसान्तमा वाणिज्य बैंकहरुको औषत आधार दर ९.९४ प्रतिशतमा झरेको अर्थमन्त्री महतले बताउनुभयो ।
पछिल्लो समय सरकारसँगको समन्वयमा बैंकहरुले पनि विस्तारै ब्याजदर कम गर्दै गएको दाबी अर्थमन्त्रीले पत्रकार सम्मेलनमा गर्नुभयो । उहाँले मौद्रिक नीतिको समिक्षामार्फत चैतसम्म ऋण तिर्न समय अवधि थप गरिएको भन्दै यसले व्यवसायीको आत्मबल बढाउने अपेक्षा रहेको बताउनुभयो ।
अर्थमन्त्री महतले चालु आर्थिक वर्षको पहिलो चार महिनामा बैंक तथा वित्तीय संस्थाबाट प्रवाह हुने कर्जा ६८.५५ अर्ब रहेकोमा यस वर्ष यस अवधिमा १३० अर्ब पुगेको उल्लेख गर्नुभयो । उहाँले बैंकको निक्षेपमा पहिलो चार महिनामा ४६.७४ अर्ब रहेकोमा यस वर्ष सोही अवधिमा २४४ अर्ब पुगेको बताउनुभयो ।
अर्थमन्त्री महतले चालु आर्थिक वर्षको असोज मसान्तसम्म ५९ अर्ब चालु खाता, ९९ अर्बले सोधनान्तर वचतमा रहेको र १२ अर्ब ३३ करोड अमेरिकी डलर विदेशी विनिमय सञ्चिति रहेको दाबी गर्नुभयो । उहाँले विप्रेषणको आप्रवाह असोजसम्ममा ३० प्रतिशले बढेकोले वाह्य क्षेत्र सन्तुलनको अवस्था रहेको जिकिर गर्नुभयो । उहाँले २०२३ को हालसम्म ९ लाख ५४ हजार पर्यटक आगमन रहेको तथ्याङ्क राख्नुभयो ।
अर्थमन्त्री महतले समग्रमा मुलुकको आर्थिक सूचकहरु सकारात्मक हुँदै गएको बताउनुभयो । उहाँले मुलुकमा उत्पादन र रोजगारी वृद्धि रातारात नहुने भन्दै त्यसको लागि केही समय लाग्ने भन्दै सकारात्मक दिशातर्फ अर्थतन्त्र उन्मुख भएको उल्लेख गर्नुभयो । मौद्रिक नीतिको समिक्षा पछि पुँजीबजारले सकारात्मक दिशा समाएको भन्दै अर्थमन्त्री महत उत्साहित हुनुभयो । उहाँले पुँजीबजार निकै तल झरेको गुनासो भएपनि मौद्रिक नीतिको समिक्षा पछि बजार माथि गएको बताउनु भयो । अर्थमन्त्री डा. महतले अर्थतन्त्र सुधारोन्मुख रहेको बताउनुभयो ।
अर्थतन्त्र सुधारका लागि उल्लेख्य रुपमा आफूले पहल गरेको र परिमाणहरु देखिन थालेको दाबी छ । उहाँले बजेट र मौद्रिक नीतिको प्रभावकारी समन्वय गर्दा आर्थिक क्रियाकलापहरु क्रमशः चलायमान भएको स्पष्ट पार्नुभयो । उहाँले मौद्रिक नीतिमा हालै गरिएको परिवर्तनले बैंक तथा वित्तीय क्षेत्रमा परेको सकारात्मक प्रभाव क्रमशः आर्थिक क्रियाकलापमा प्रतिविम्वित हुने विश्वास आफूमा रहेको बताउनुभयो । उहाँले घरजग्गा र शेयर कारोबार बढ्न शुरु भएको भन्दै शेयर बजारमा आएको उत्साहले सकारात्मक संकेत गरेको दाबी गर्नुभयो ।
अर्थमन्त्री डा. महतले अर्थ मन्त्रालयले तिर्नुपर्ने दायित्व भुक्तानीको लागि स्रोत सुनिश्चिता गरेर चाँडै तिर्ने तयारी गरिरहेको बताउनुभयो । उहाँले उखु किसान, दुध र निर्माण व्यवसायीहरुको भुक्तानी स्रोत सुनिश्चिता नभएकाले बिस्तारै भुक्तानी गरिरहेको बताउनुभयो । उहाँले सरकारले सम्झौता भए बमोजिमका दायित्व भुक्तानीहरु नगर्दैमा अर्थतन्त्र संकटमा गयो भन्न नहुने बताउनुभयो ।
अर्थमन्त्री महतले सम्झौता बमोजिम काम सम्पन्न भई अर्थ मन्त्रालयमा प्राप्त निर्माण व्यवसायीलाई भुक्तानी दिन बाँकी रकमको अधिकांश दायित्व व्यवस्थापन गरिसकिएको उल्लेख गर्नुभयो । उहाँले उखुको ८० करोड भुक्तानी भर्खरै गरेको भन्दै बाँकी रहेको चाँडै दिने बताउनुभयो । उहाँले अर्थ मन्त्रालयमा भुक्तानीको लागि आइ पुगेको फाइलहरुको भुक्तानी थोरै मात्रै बाँकी रहेको बताउनुभयो ।
अर्थमन्त्री डा.महतले सरकार स्वदेशी तथा विदेशी दुवै लगानीलाई प्रोत्साहन गर्ने बताउनुभयो । उहाँले विदेशी लगानीका लागि कानूनमा अफ्ठ्यारा र अव्यवहारिक भए सरकारले तत्काल सुधार गर्न तयार रहेको तर मुलुकको विधि र कानूनलाई मानेर लगानी गरेर त्यही विधि र कानूनलाई मान्दिन भन्ने एनसिएलको कुरालाई सरकारले स्वीकार गर्न नसक्ने स्पष्ट पार्नुभयो ।
अर्थमन्त्री महतले एनसेलले नेपालको विधि र कानून मान्नुपर्ने बताउनुभयो । उहाँले एनसेललाई नियमन गर्ने नियमनकारी निकाय दूरसञ्चार प्राधिकरणको सर्तकता र जागरुपता सुनिश्चित हुन आवश्यक रहेको बताउनुभयो । उहाँले एनसिएलले तिर्नुपर्ने कर सरकारले तिर्नुपर्छ भन्दा तिर्नुपर्दैन भनेर अदालत गए पनि सरकारको पक्षमा निर्णय भएको उल्लेख गर्नुभयो । स्वदेशी तथा विदेशी लगानीकर्ताहरु मुलुकको कानूनअनुसार चल्नुपर्छ भन्दा अन्य लगानीकर्ता नभड्किने दाबी गर्नुभयो ।
अर्थमन्त्री महतले कानून अनुसार सरकारले एनसिल खरिद बिक्री प्रक्रियाको छानविन गरिरहेको बताउनुभयो । उहाँले अर्थ मन्त्रालय एनसेलले राज्यलाई तिर्नुपर्ने करको विषयमा स्पष्ट गरेको बताउनुभयो ।
अर्थमन्त्री डा.महतले कोरोनाको बीमा दाबी भुक्तानीमा झुटो विवरण पेस भएको दाबी गर्नुभयो । उहाँले कोरोना बिमाको भुक्तानीका लागि आएका दाबी शंकास्पद देखिएपछि त्यसको पुनः अनुसन्धान भइरहेको बताउनुभयो । उहाँले वास्तविक विरण आएपछि बीमाको भुक्तानी हुने स्पष्ट पार्नुभयो । सरकारले कोरोना बीमाको दाबी भुक्तानीका लागि १० अर्ब रुपैयाँ निकासा गर्नुपर्नेछ । करिब १ लाख विमितले कोरोना बीमा बापतको रकम पाउन बाँकी छ ।
कोभिडको समयमा लिइएको खुकुलो मौद्रिक तथा वित्त नीतिका कारण घरजग्गा, शेयर र वस्तु आयाततर्फ उच्च कर्जा प्रवाह हुँदा अर्थतन्त्र शिथिल अवस्था पुगेको बताउनु भयो ।
प्रतिक्रिया दिनुहोस्