
काठमाडौं । नविकरण नगरेकाले नेपाल दूरसञ्चार प्राधिकरणले युटिएलसहित तीन कम्पनीले पाएको इमेलसहितको इन्टरनेट सेवा अनुमतिपत्र खारेज गरेको छ ।
युनाइटेड टेलिकम लिमिटेड (युटिएल), म्याक्स नेट सोलुसन प्रालि र चितवन नेटवर्क प्रालिको इमेलसहितको इन्टरनेट अनुमति खारेज गरेको प्राधिकरणले जनाएको छ ।
यी तीन वटै सेवा प्रदायक कम्पनीहरुले तोकिएको समय अवधिभित्र नवीकरणबापतको दस्तुर दाखिला गरी नवीकरणका लागि निवेदन पेस नगरेकाले ती कम्पनीहरुको अनुमतिपत्र स्वतः खारेज भएको प्राधिकरणले जारी गरेको सूचनामा उल्लेख छ ।
युटिएलले २०६० कात्तिक ५ गते, म्याक्स नेट प्रालिले २०७५ साल मंसिर ६ गते र चितवन नेटवर्क प्रालिले २०७५ साल मंसिर १२ गते इमेलसहितको इन्टरनेट सेवाको अनुमति पत्र पाएका थिए ।
अनुमति पत्र पाँच वर्षपछि नवीकरण गर्नुपर्नेमा ती कम्पनीहरुले गरेका थिएनन् । कम्पनीहरुलाई नियमानुसार बुझाउनुपर्ने दस्तुर रकम तथा विवरणहरु ३० दिनभित्र बुझाउन प्राधिकरणले निर्देशन दिएको छ । नबुझाएमा प्रचलित कानुन बमोजिम कारवाही प्रक्रिया अघि बढाउने प्राधिकरणले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्