२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


गाजापट्टीमा युद्ध जारी राख्ने इजरायली प्रधानमन्त्रीको अडान


377
Shares

एजेन्सी । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले अन्तर्राष्ट्रिय दबाबको बाबजुद गाजा क्षेत्रमा युद्ध जारी राख्ने बताउनुभएको छ ।

गाजापट्टीमा आक्रमण रोक्न विश्व समुदायले दबाब बढाइरहेका बेला नेतेन्याहुले इजरायलले चाहे अनुसारको जित हासिल नगरेसम्म स्थल तथा हवाइ आक्रमण जारी राख्ने बताउनुभएको हो ।

उहाँका विदेशमन्त्री एली कोहेनले अहिलको समयमा युद्ध रोक्नु भनेको आतंकवादी संगठन हमासको लागि उपहार हुने तर्क गर्दै गाजापट्टीमा अन्तर्राष्ट्रिय समर्थन बिना पनि युद्ध जारी रहने बताउनुभएको छ ।

संयुक्त राष्ट्र संघको महासभाले मङ्गलबार गाजामा युद्धविरामको माग गर्दै गैर बाध्यकारी प्रस्तावलाई अत्यधिक बहुमतले पारित गरेको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले पनि इजरायलले गाजामा अन्धाधुन्ध बमबारी जारी राख्दा विश्वव्यापी समर्थन गुमाउन थालेको बताउनुभएको छ ।

उता वेष्ट बैंक र गाजापट्टीमा भने युद्धपीडितहरुको बिचल्ली भएको छ । बुधबार रातीको आँधीले विभिन्न शिविरमा आश्रय लिएर बसेका हजारौ प्यालेस्टिनीहरूको अवस्था बिग्रिएको हो ।

गाजामा इजरायली आक्रमणमा परि हालसम्म १८ हजार ६ सय प्यालेस्टाइनी नागरिक मारिएको बताइएको छ । अक्टोबर ७ तारिखमा हमास लडाुकले इजरायल प्रवेश गरेर आक्रमण गर्दा १२ सयभन्दा बढी इजरायली नागरिक मारिएका थिए ।