
काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महत सरकारले समय सापेक्ष श्रमिकहरुको सीप विकास गराउन आवश्यक रहेको बताउनुभएको छ ।
बिहीबार ललितपुरमा भएको श्रमिक र उद्योग व्यवसायको सम्बन्ध विषय सेमिनारमा बोल्दै अर्थमन्त्री महतले यस्तो बताउनुभएको हो । उहाँले पछिल्लो समय नयाँ–नयाँ प्रविधिको विकास हुँदै गएकाले नयाँ प्रविधिको प्रयोग गर्नसक्ने श्रमिक बनाउन राज्यले लगानी गर्नु आवश्यक रहेको भन्दै सरकारले त्यसतर्फ ध्यान दिइरहेको बताउनुभयो ।
अर्थमन्त्री महतले नयाँ प्रविधि अनुसार श्रमिकहरुको सीप विकास भए मात्रै उद्योग व्यवसायबाट उत्पादन क्षमता बढ्ने बताउनुभयो । उहाँले उद्योगहरुमा उत्पादन वृद्धि भए मात्रै उद्योग व्यवसायको लागत कम हुने दाबी गर्नुभयो । उहाँले नेपाल भूपरिवेष्ठित राष्ट्र भएकाले भारतको भन्दा आयात भएका वस्तुहरु महँगो हुने गरेको बताउनुभयो । उत्पादन वृद्धिको लागि नेपाली उद्योग व्यवसायले पनि नयाँ प्रविधिहरुको प्रयोग गर्नुपर्ने जरुरी रहेको अर्थमन्त्री महतको भनाई छ ।
अर्थमन्त्री महतले ट्रेड युनियनहरुको नेतृत्वमा श्रमिकहरुको सीप विकास गरी क्षमता बढाउन लाग्नुपर्नेमा जोड दिनुभयो । उहाँले श्रमिकहरुको सीप विकास र क्षमता वृद्धि भएमात्रै प्रतिव्यक्ति आयमा समेत वृद्धि हुने विश्वास व्यक्त गर्नुभयो । अर्थमन्त्री डा. महतले उत्पादन वृद्धि भएर उद्योगको लागत कम भए श्रमिकहरुको पनि तलवमान वृद्धि हुने बताउनुभयो ।
अर्थमन्त्री महतले नेपालमा राम्रो नाफा गर्ने कम्पनीहरुले श्रमिकहरुलाई दिने सेवा सुविधामा कन्जुस्याँई पर्ने प्रचलन रहेको जिकिर गर्नुभयो । श्रमिक र उद्योग व्यवसायको सुमधुर सम्बन्ध हुनुपर्ने भन्दै व्यवस्थापन र श्रमिक दुवैले एक अर्कालाई बुझ्नु जरुरी रहेको बताउनुभयो । उहाँले नेपालको अर्थतन्त्रमा देखिएका सबै खालका समस्याहरु बिस्तारै हल हुँदै गएको स्पष्ट पार्नुभयो ।
प्रतिक्रिया दिनुहोस्