२७ चैत्र २०८१, बुधबार | Wed Apr 9 2025


चार महिनामा करिब ५ खर्ब रेमिट्यान्स भित्रियो


546
Shares

काठमाडौं । निरन्तरजसो दबावमा रहँदै आएको मूल्य वृद्धिमा केही सुधार आएको छ । कात्तिक महिनामा मूल्यवृद्धिमा केही कमी आएको छ ।

राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको चालु आर्थिक बर्षको ४ महिनाको आर्थिक स्थितिमा मुद्रास्फीति ५.३८ प्रतिशत रहेको जनाइएको हो । अघिल्लो वर्षको यसै अवधिमा मूल्यवृद्धि ८ प्रतिशत माथि रहेको थियो । यसैवर्षको असोजमा पनि मूल्यवृद्धि साढे ७ प्रतिशत रहेको थियो ।

यस अवधिमा आयात ३.८ प्रतिशतले घटेको, निर्यात ७.७ प्रतिशतले घटेको र कुल वस्तु व्यापार घाटा ३.३ प्रतिशतले घटेको राष्ट्र बैंकले जनाएको छ । पछिल्लो समय सुधारिंदै गएको बाह्य क्षेत्र चौथो महिनामा थप बलियो देखिएको छ । विप्रेषण आप्रवाह २६.४ प्रतिशतले बढेको छ ।

हालसम्म नेपालमा ४ सय ७७ अर्ब ९६ करोड रेमिट्यान्स भित्रिएको छ । अघिल्लो वर्षको यसै अवधिमा विप्रेषण आप्रवाह २० प्रतिशतले बढेको थियो । यस अवधिमा वैदेशिक रोजगारीका लागि जानको संख्या भने घटेको छ । वैदेशिक रोजगारीकालागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या १ लाख ३७ हजार र पुनः श्रम स्वीकृति लिनेको संख्या ६८ हजार रहेको छ । अघिल्लो वर्षको यसै अवधिमा अन्तिम स्वीकृति लिने १ लाख ९६ र पुनः स्वीकृति लिने ८७ हजार रहेका थिए ।

शोधनान्तर स्थिति १ सय ४७ अर्ब ११ करोडले बचतमा रहेको छ । कुल विदेशी विनिमय सञ्चिति १६ खर्ब ९६ अर्ब ७८ करोड रहेको छ । नेपाल सरकारको खर्च ३ खर्ब ५५ अर्ब ६३ करोड र राजस्व परिचालन २ खर्ब ७६ अर्ब ६४ करोड रहेको राष्ट्र बैंकले जनाएको छ । विस्तृत मुद्राप्रदाय ३.७ प्रतिशतले बढेको छ ।

वार्षिक बिन्दुगत आधारमा यस्तो मुद्राप्रदाय १४.२ प्रतिशतले बढेको छ । यस्तै, यस अवधिमा बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन २.७ प्रतिशतले बढेको छ र निजी क्षेत्रमा प्रवाहित कर्जा २.१ प्रतिशतले बढेको छ । वार्षिक बिन्दुगत आधारमा निक्षेपको वृद्धिदर १४.३ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर ४.४ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ ।