
काठमाडौं । उच्च अदालत पाटनले नक्कली शरणार्थी प्रकरणमा मुछिएका पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई ३० लाख धरौटीमा छाड्न आदेश दिएको छ ।
बिहीबार उच्च अदालत पाटनले खाँणलाई थुनामा पठाउनुपर्ने भनी जिल्ला अदालत काठमाडौंले दिएको आदेश बदर गरी धरौटीमा छाड्न आदेश गरेको हो ।
उच्च अदालत पाटनका प्रवक्ता तिर्थराज भट्टराईले अदालतको फैसला सुनाउँदै न्यायाधीश कृष्णराम कोईरालाको इजलासले खाँणलाई ३० लाख रुपैयाँ धरौटीमा छोड्ने आदेश जारी गरेको बताउनुभयो । उहाँले न्यायाधीश कृष्णराम कोईरालाको इजलासले यसअघि नै जनक पाण्डेले व्यक्त गरेको रायलाई समर्थनको रायसँगै जिल्ला अदालतको आदेश बदर भएको बताउनुभयो ।
प्रवक्ता भट्टराईले यसअघि उच्च अदालतमा दुई न्यायाधीशहरुबीच राय बाझिएपछि तेस्रो न्यायाधीशको रायका लागि खाँणले दिएको निवेदन बिहीबार तेस्रो न्यायाधीश कोईरालाको इजलासमा पेस भएको बताउनुभयो ।
उच्च अदालत पाटनले गत १५ मंसिरमा न्यायाधीश जनक पाण्डेले खाँणलाई धरौटीमा छोड्नुपर्ने भनी राय दिएका थिए भने प्रकाश खरेलले थुनामा पठाउनुपर्ने राय व्यक्त गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्