
काठमाडौं । इंग्लीश टोलीहरु लिभरपुल, वेष्ट ह्याम युनाइटेड र ब्राइटन युरोपा लिग फुटबलको नकआउट चरणमा पुगेका छन् ।
तीनवटै टोली आ–आफ्नो समुहमा विजेता बन्दै अर्को चरणमा उक्लिएका हुन् । समुह ‘ए’ को अन्तिम खेलमा जर्मनीको फ्राइबर्गलाई २–० ले हराउँदै वेष्ट ह्याम समुह विजेता बन्यो । समुहमा ६ खेलबाट वेष्टह्यामले १५ अंक जोड्दा १२ अंकसहित फ्राइबर्ग दोस्रो स्थानमा रह्यो ।
उता समुह ‘बि’ मा फ्रान्सको मार्सेलाई १–० ले हराउँदै इंग्लीश टोली ब्राइटन पनि राउण्ड अफ सिक्सटिनमा पुग्यो । ६ खेलबाट ब्राइटनले १३ अंक जोड्दा १२ अंक जोडेको मार्सेले राउण्ड अफ सिक्स्टिनमा पुग्न प्ले अफ् खेल्नुपर्ने भएको छ ।
यसैगरि समुह ‘ई’ मा १२ अंकसहित विजेता बनेको लिभरपुलले पनि नकआउट चरणमा स्थान बनायो । इंग्लीश टोलीहरु वेष्ट ह्याम युनाइटेड, ब्राइटन र लिभरपुलबाहेक स्कटल्याण्डको रेन्जर्स, इटालीको एटलान्टा, स्पेनको भियारियाल, जर्मनीको बायर लिभरकुजेन र चेक गणतन्त्रको स्लाभिया प्राग पनि समुह विजेता बन्दै राउण्ड अफ सिक्सटिनमा पुगे ।
युरोपा लिगमा आठवटा समुहको विजेता टोली सिधै राउण्ड अफ सिक्सटिनमा पुग्ने व्यवस्था छ भने दोस्रो स्थानमा रहने आठ टोलीले च्याम्पियन्स लिगको समुह चरणमा तेस्रो हुने टोलीसँग प्ले अफ् खेल्नुपर्छ ।
प्रतिक्रिया दिनुहोस्