८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


युवा केन्द्रित कार्यक्रम नल्याए पहाडी क्षेत्र रित्तिने खतरा : उपमहासचिव ज्ञवाली


26
Shares

काठमाडौं । नेकपा एमालेका उपसमहासचिव प्रदीप ज्ञवालीले सरकारले युवा केन्द्रित कार्यक्रम नल्याए केही समयमै पहाडी क्षेत्र रित्तिने खतरा रहेको बताउनुभएको छ । शुक्रवार महाकाली–मेची अभियानअन्तर्गत तेह्रथुमको वसन्तुपुरमा उहाँले उक्त कुरा बताउनुभएको हो ।

उपसमहासचिव ज्ञवालीले यात्राका क्रममा आफूहरुले युवा केन्द्रित कार्यक्रम ल्याउन नसके केही समयभित्रै गाउँहरु रित्तिने र शिक्षा तथा स्वास्थ्यमा झनै ठूलो संकट पैदा हुने अवस्था आएको अनुभव भएको बताउनु भयो । गाउँ बस्तीहरु बिस्तारै युवाविहीन अवस्थामा पुगेको भन्दै उहाँले जलवायु परिवर्तनका असरले पनि गाउँमा धेरै ठूलो क्षति पुगेको बताउनु भयो ।

ज्ञवालीले राजधानीमा बसेर सत्ताको भागबण्डा छोडेर जनतामा आउन र जनताका समस्या समाधान गर्न पनि आग्रह गर्नुभयो । परिवर्तनपछि पनि जनतामा ठूलो पीडा यथावत रहेको भन्दै उहाँले सबै राजनीतिक दलहरुले जनताको अवस्था परिवर्तन गर्नका लागि स्वस्थ प्रतिष्पर्धा गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले यात्राले नेकपा एमालेलाई जनतामा जोडिन र जनताका समस्या समाधानका लागि आवश्यक कदम चाल्ने कुरामा सहयोग पुगेको बताउनु भयो ।

उपसमहासचिव ज्ञवालीले भन्नुभयो, ‘देश बर्बाद भयो, अब देश बन्दैन भन्ने भाष्य निर्माण गर्न खोजिँदैछ । त्यसलाई चिर्ने हाम्रो उद्देश्य थियो । कम्युनिष्ट पार्टीको ७५ औं वर्षमा छौँ हामी । यो ७५ वर्षको बीचमा कम्युनिष्ट पार्टीले के ग¥यो र अब २५ वर्षमा के गर्छ भन्ने हो । जनताबाट सुन्ने र सिक्ने अवसर थियो । सारमा हामीले यसलाई सम्बन्ध स्थानीय र सन्देश राष्ट्रिय भनेका छौँ । यस अवधिमा हामीले २९ वटा ठूला सभा गरेका छौँ । तेह्रथुमको वसन्तपुरसम्म आइपुग्दा । सय भन्दा बढी साना भेलाहरु गरेका छौँ । विकास सम्बन्धी सर्वदलीय छलफलका कार्यक्रम गरेका छौँ । साथै अरु थुप्रै नेपालको रुपान्तरणकारी योजनाहरुको अवलोकन गर्ने काम गरेका छौँ ।’

ज्ञवालीले ‘यो समग्र क्रियाकलापबाट नेकपा एमालेले प्राप्त गरेको सबैभन्दा महत्वपूर्ण उपलब्धि भनेको हाम्रो जनतासँगको सम्बन्ध असाध्यै निकट भएको ७ देखि ८ लाख मानिससँग त प्रत्यक्ष भेट गरेका छौँ । अरु १० लाख मानिससँग अप्रत्यक्ष संवाद गरेका छौँ । यो अभियान सकिँदा कुल २५ लाख जनतासँग संवाद गर्नेछौँ ।……… युवा केन्द्रित कार्यक्रम ल्याउन जरुरी देखियो । नभए बिस्तारै गाउँहरु बस्तीहरु युवाविहीन हुने अवस्था रहेछ । विद्यालय कतिपय ठाउँमा रित्तिँदै गएका छन् । जलवायु परिवर्तनका असर बढी देख्यौँ । खोनपानीको मुहान सुक्ने, हिउँहरु पग्लिरहेको देख्यौँ । हिमालहरु कालो पहाड बन्दै गएको, ठूला पहिरो गएको छ । अन्य दलहरुलाई पनि राजधानीमा बसेर सत्ताको वाक्क दिक्क लाग्दो लुछाचुँडी र भागबण्डा छोडेर जनतामा आउनुस् । जनतामा ठूलो पीडा छ । सबैले स्वस्थ प्रतिष्पर्धा गरौँ’ बताउनु भयो ।

उपमहासचिव ज्ञवालीले पहाडी क्षेत्रमा कृषि र कृषिजन्य उद्योगहरुको ठूलो सम्भावना रहेकाले त्यसतर्फ सरकारले ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।